सन् २०१२ मा रिलिज भएको भारतीय फिल्म ‘स्टुडेन्ट अफ द इयर’ले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो। धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म जोहरले निर्देशन गरेका थिए। यसमा अभिनेत्री आलिया भट्टले मूख्य भूमिकामा डेब्यू गरेकी थिइन्।
‘स्टुडेन्ट अफ द इयर’ पछि आलियाले आफ्नो अभिनय यात्रा फर्केर हेर्नु परेको छैन। थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी उनलाई निर्देशक जोहरको प्यारी अभिनेत्रीको रूपमा पनि चिनिन्छ।
करण जोहर आलियालाई आफ्नो छोरी जस्तै मान्छन्। उनको निर्देशनमा बनेका कयौँ धर्मा प्रोडक्सन फिल्म ‘हम्टी शर्माकी दुलनियाँ’, ‘डियर जिन्दगी’, ‘कपुर एण्ड सन्स’, ‘बर्दीनाथकी दुलनियाँ’मा आलियाको अभिनय देख्न सकिन्छ। तर, एकपटक भने करणले आलियालाई धर्मा प्रोडक्सनको फिल्म नखेल्न सुझाएका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार करणले आलियालाई सन् २०१६ मा रिलिज भएको फिल्म ‘कपुर एण्ड सन्स’मा लिन खोजेका थिएनन। उनले आफैँ आलियालाई फिल्म नखेल्न भनेका थिए।
फिल्ममा आलियाले खेलेको पात्रको भूमिका त्यति धेरै नभएकाले यसमा अभिनय नगर्न सुझाएको करणले खुलासा गरेका हुन्।
‘मैले आलियालाई धर्मा प्रोडक्सनको सबै फिल्म तिमीले खेल्न पर्दैन भनेको थिएँ,’ क्लबहाउसको ‘इन्साइड द राइटर्स रूम’ सेसनमा कुरा गर्ने क्रममा करणले आलियासँग भएको कुरा सुनाएका थिए, ‘आलियाको लागि त्यो पात्र सुहाउँदैन भनेर सम्झाउन खोजिरहेको थिएँ तर उनले अभिनय गर्न रुची देखाइरहेकी थिइन्।’
‘कपुर एण्ड सन्स’को स्क्रिप्ट पढेपछि आलियाले आफ्नो पात्रको भूमिका कति ठूलो छ भन्नेबारे वास्ता गरिनन। फिल्म राम्रो भएकाले अभिनय गर्ने निर्णय लिइन।
‘आलियाले केबल आफ्नो पात्रको भूमिका कति राम्रो भनेर हेरिनन। उसले पुरै फिल्मबारे सोचिन्। फिल्म क्षेत्रका सबै कलाकारले यसरी सोच्ने भए धेरै राम्रो हुन्थ्यो होला,’ करणले भने।
‘कपुर एण्ड सन्स’ फिल्ममा आलियासँगै सिद्धार्थ मलहोत्रा र फवाद खानको अभिनय छ। शाकुन बत्राको निदेर्शनमा बनेको यस फिल्ममा रिसी कपुर र रजत कुपरले पनि अभिनय गरेका छन्।