बलिउड अभिनेत्री आलिया भट्टको निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘डार्लिङ्स’को छायांकन सुरु भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार आलियाले गत शनिबार आफ्नो भ्यानेटी भ्यानमा छायांकनको तयारी गरिरहेको फोटो राखेर ‘डार्लिङ्स’को काम सुरु भएको खुसी ट्विटरमा सेयर गरेकी हुन्।
ट्विटमा उनले पहिलो पटक निर्माता र अभिनेत्री भएर काम गर्न हल्का डर लागेको बताएकी थिइन्। आलियाको यस ट्विटमा रिपोस्ट गर्दै अभिनेता शाहरुख खानले आफ्नो लागि काम मागेका छन्। उनले आलियाको अर्को फिल्ममा आफूलाई पनि काम दिन अनुरोध गरेका छन्।
‘योपछि कृपया मलाई तिम्रो अर्को होम प्रोडक्सनका लागि साइन अप गरिदेऊ,’ शाहरुखले ट्विटरमा लेखेका छन्, ‘म सुटिङका लागि समयमा नै आउनेछु र व्यवसायिक हुनेछु।’
नयाँ फिल्म ‘डार्लिङ्स’ आलियाको प्रोडक्सन हाउस इटरनल सनसाइन र शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टको सह–निर्माणमा बन्न लागेको हो। जसमित के रिनद्वारा निर्देशित यो फिल्ममा आलिया भट्ट, शेफाली शाह, विजय शर्मा र रोशन मैथ्यूको मुख्य भूमिका छ।
शाहरुखले रमाइलो शैलीको ट्विट देखेर आलियाले पनि उस्तै शैलीमा जवाफ दिएकी छन्। उनले हाँस्दै शाहरुखलाई आफ्नो काममा लिने सम्झौता भएको जानकारी दिएकी छन्। ‘डार्लिङ्स’ आमा र छोरी जोडीबीचको पृथक कथामा आधारित छ।
मुम्बई सहरको तल्लो मध्यम वर्गीय पृष्ठभूमिमा बुनिएको फिल्मको कथामा आमा र छोरी असाधारण परिस्थितिमा पनि साहस र माया खोजिरहेका हुन्छन्। व्यवसायिक फिल्मबाट आफ्नो अभिनय करियर सुरु गरेकी आलियाले गम्भीर खालका थुप्रै राम्रा फिल्ममा काम गरेर मन जितिरहेकी छन्।
आलियाले यसअघि नै शाहरुख खानसँग काम गरिसकेकी छन्। सन् २०१६ मा रिलिज भएको फिल्म ‘डियर जिन्दगी’मा आलिया र शाहरुखको मूख्य अभिनय थियो। यी दुई कलाकार ‘ए दिल हे मुश्किल’ र ‘जिरो’ फिल्ममा पनि एउटै स्क्रिनमा देखिएका थिए।