बलिउड अभिनेता रणवीर सिंह आज ३६ वर्षका भए। उनको जन्मदिनको अवसरमा अनुष्का शर्मा, विक्की कौशल, सारा अली खान, अनन्या पाण्डेलगायत बलिउड कलाकारले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन्।
सन् २०१० मा ‘ब्यान्ड बाजा बारात’ फिल्मबाट बलिउडमा डेब्यु गरेका रणवीरले हालसम्म दुई दर्जनजति फिल्ममा अभिनय गरेका छन्। तीमध्ये ‘गल्ली ब्वाय’, ‘बाजिरव मस्तानी’, ‘पद्मावत’, ‘राम लीला’, ‘लुटेरा’ उनका सफल फिल्म हुन् जसमा उनको अभिनयको सर्वत्र प्रशंसा भएको छ।
यी फिल्मबाट उनले फिल्मफेयर अवार्ड र क्रिटिक्स च्वाइस अवार्डहरु समेत जितेका छन्।
एक दशक अवधिमा रणवीरले बलिउडमा मारेको छलाङ धेरैका लागि अपत्यारिलो छ। उनी अहिले बलिउडको सबैभन्दा बढी कमाइ गर्ने अभिनेतामध्ये पर्छन्।
रणवीरले ‘ब्यान्ड बाजा बारात’ फिल्मबाट डेब्यु गर्दा बलिउडमा अक्षय कुमार र जोन अब्राहमजस्ता कलाकारकाे माग बढी थियो। त्यसबेला दुब्लो शरीर भएका र ठिकठाक देखिने रणवीरमा धेरैले ‘हिरो’ बन्ने गुणसमेत देखेका थिएनन्।
सुरुवाती दिनमा विज्ञापन एजेन्सीमा कपिराइटरको काम गर्ने रणवीरकाे बलिउडमा पहुँच थिएन। यसराज फिल्म्सबाट आएको एक कल फोनपछि भने रणवीरको जिन्दगीले कायापलट गर्यो। उनलाई यशराज ब्यानर्सको ‘ब्यान्ड बाजा बारात’का कास्टिङ निर्देशक सानु शर्माले मूख्य भूमिकाको लागि अडिसनमा बोलाउन फोन गरेका थिए।
रणवीरको लागि त्यो फोन कल अप्रत्यासित थियो। उनी उत्सुकता र डर बोकेर अडिसनका लागि गए। तीन दिनपछि रणवीरलाई सोझै यशराज फिल्मका अध्यक्ष आदित्य चोपडाको फोन आयो। उनैले रणवीरलाई 'ब्यान्ड बाजा बारात'को मुख्य भूमिकामा छानिएको सुखद खबर सुनाएका थिए।
फिल्म क्षेत्रभन्दा बाहिरका कलाकारले एकै पटकमा यशराज फिल्म्सबाट निर्माण हुने फिल्ममा विरलै काम गर्ने अवसर पाउँछन्। रणवीरलाई मूख्य पात्रको भूमिका दिनेबेला आदित्य चोपडामाथि धेरैले प्रश्नसमेत उठाएका थिए। ती व्यक्ति मध्ये बलिउडका निर्देशक करण जोहर पनि एक हुन्।
पहिलो पटक रणवीर सिंहलाई यशराज फिल्मको अफिसमा देख्दा करण जोहरले उनलाई मन पराएका थिएनन्। उनको बाहिरी आवरण देखेर करणले आदित्यलाई ‘ब्यान्ड बाजा बारात’ फिल्मको मूख्य भूमिकाबाट हटाउन सुझाव दिएका थिए। यो खुलासा करणले सन् २०१० मा आफ्नो ‘कफी विथ करण’ कार्यक्रमको दौरान गरेका हुन्।
‘आदित्य र यश जोहरसँग लन्च खान म यशराज फिल्म्सको अफिस गएको बेला पहिलो पटक रणवीरलाई त्यहाँ टेबल टेनिस खेलिरहेको देखेको थिएँ,’ करणले कार्यक्रममा भनेका थिए, ‘सुरुमा त मैले रणवीरलाई असिस्टेन्ट निर्देशक ठानेको थिएँ। तर उनी फिल्मको हिरो भन्ने थाहा पाउँदा मलाई चित्त बुझेको थिएन।’
आदित्य चोपडाले रणवीरको अभिनय क्षमता राम्रो भएको र फिल्मको मूख्य पात्रका लागि उत्तम छन् भनेर सम्झाउँदा पनि करणले विश्वास गरेका थिएनन्।
करण जोहर रणवीरको अनुहार र शरीर हिरो बन्न नसुहाउने कुरामा अडिग थिए र रणवीरकै कारण ‘ब्यान्ड बाजा बारात’ कसैले हेर्दैनन् भनिरहेका थिए। जब ‘ब्यान्ड बाजा बारात’को प्रोमो रिलिज भयो करण रणवीर सिंहको अभिनय देखेर चकित परे। यसअघि रणवीरको क्षमतामाथि उठाएको प्रश्नप्रति उनले आफ्नो गल्ती स्वीकारे।
रणवीर सिंहमाथि प्रश्न उठाएकोमा मैले आफूलाई सबैभन्दा ठूलो मूर्ख ठानेँ,’ करणले भनेका थिए, ‘‘ब्यान्ड बाजा बारात’मा उनको अभिनय देखेपछि बल्ल उनी फिल्मी स्टार हुन् भन्ने महसुस भएको थियो।’ एघार वर्षअघि अनुहार हेरेरै रणवीर सिंहलाई मन नपराएका करणले अहिले आफ्नो नयाँ फिल्ममा उनलाई खेलाउने भएका छन्।
रणवीरको ३६ औं जन्मदिनको अवसरमा करणले नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’मा उनैलाई मूख्य भूमिकामा लिएको घोषणा गरेका हुन्। फिल्ममा रणवीरसँगै अभिनेत्री आलिया भट्टको पनि भूमिका रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।