'भारी हृदय र गहिरो शोकका साथ, म केही मिनेटअघि हाम्रा प्यारा दिलीप साहेबको निधनको घोषणा गर्छु। हामी भगवानको घरबाट आएका हौं र हामी त्यहीँ फर्किन्छौं,' मंगलबार बिहानै दिग्गज अभिनेता दिलीप कुमारको आधिकारिक ट्विटर ह्यान्डलले ट्विट गर्यो।
'ट्रयाजेडी किङ' को परिचय बनाएका भारतीय अभिनेता दिलीप कुमारको निधनको खबर उनकै आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी गराइएको थियो। ९८ वर्षको उमेरमा निधन भएका दिलीपको अन्तिम संस्कार आजै पाँच बजे जुहुको सान्टाक्रुज कब्रस्तानमा हुने जानकारी पनि यही ह्यान्डलले दिएको छ।
२५ वर्षको उमेरमा सर्वाधिक सफल अभिनेता बन्न सफल दिलीप कुमार भारतकै उत्कृष्ट अभिनेता मानिन्छन्। 'देवदास', 'नयाँ दौर', 'मधुमती', 'मुगल-ए-आजम', 'गंगा-जमुना', 'लिडर', 'मेला', 'शहीद', 'अंदाज' लगायत ६० भन्दा बढी फिल्ममा गरेको जीवन्त अभिनयबाट उनले आफूलाई अब्बल साबित गरेका हुन्।
भारत पाकिस्तान विभाजनअघिको पेशावरमा जन्मिएका दिलीप कुमार बलिउडका पहिलो खान सुपरस्टार हुन्। उनको खास नाम मोहम्मद युसुफ खान हो।
भारत पाकिस्तान विभाजनका बेला दिलीप कुमारको परिवार कलकत्ता हुँदै मुम्बई बसाइ सर्यो। उनका बुबा लालागुलाम सरवर फलफूल बेच्थे। १२ जना दाजुभाइ-दिदीबहिनी भएको परिवारमा हुर्केका दिलीप कुमार सानै उमेरमा काम गरेर घरमा आर्थिक रूपमा योगदान गर्ने दबाबमा परेका थिए।
मुम्बईको खालसा कलेज पढ्ने बेला दिलीप कुमारको भेट अभिनेता राज कपूरसँग भयो। स्कुल पढ्दा दिलीप कुमार लजालु स्वभावका थिए भनेर राज कपुरले एक अन्तर्वार्तामा बताएका थिए। उनका अनुसार दिलीप कलेजका नाटकमा अभिनय गर्ने अनुरोधबाट भाग्न खोज्थे।
तर उनको गन्तव्य त अभिनय नै थियो। यो गन्तव्यको सेतु बनिन् अभिनेत्री तथा 'बम्बे टाकिज' स्टुडियोकी प्रमुख देवकी रानी। उनैले युसुफ खानलाई फिल्ममा काम गर्ने अवसर दिइन् र युसुफ खानको नाम बदलेर दिलीप कुमार बनाइदिइन्।
सन् १९४४ मा बम्बे टाकिजको निर्माणमा बनेको 'ज्वारभाटा' फिल्मबाट दीलिपले बलिउडमा पाइला चाले। त्यो बेला उनी २२ वर्षका थिए। 'ज्वारभाटा' फिल्म चलेन। यसपछि पनि उनका केही फिल्म असफल नै भइरहे। तर सन् १९४७ मा सार्वजनिक भएको 'जुग्नू' उनको पहिलो हिट फिल्म बन्यो। यसपछि 'शहीद र मेला' ले उनको हिट सिलसिलालाई नयाँ उचाइ दियो।
यसपछि छोटो समयमै उनका युवा पाइला यसरी दौडिए, सन् १९५० को दशकसम्म उनी बलिउडमा स्थापित नै भए। कम उमेरमै भारतको सर्वाधिक चर्चित अभिनेता समेत बने।
यो दशकमा उनका 'दाग', 'बुलबुल', 'आन', 'तराना', 'नयाँ दौर', 'मधुमति', 'फुटपाथ' जस्ता फिल्म सार्वजनिक भए। राज कपूर र देव आनन्द यो समयका उनका प्रतिस्पर्धी अभिनेता थिए।
उनलाई ट्रयाजेडी किङ बनाउने मुख्य फिल्म भने निर्देशक नीतिन बोशको 'दीदार' र विमल रायको 'देवदास' हुन्। यद्दपि 'आजाद', 'कोहिनूर' र 'राम और श्याम' जस्ता फिल्ममा उनले कमेडी भूमिका पनि उत्तिकै सफल रूपमा निर्वाह गरेका छन्।
सन् १९५४ को 'दाग' फिल्मबाट पहिलो फिल्म फेयर अवार्ड जितेका उनले त्यसपछिका वर्षमा थप सात वटा फिल्म फेयर जिते।
मधुबाला, वैजयन्ती माला, मीना कुमारी, नरगिस निम्मीजस्ता आफ्नो समयका उत्कृष्ट अभिनेत्रीसँग उनले हिट फिल्म दिए। सत्तरीको दशकदेखि भने उनको सक्रियता कम हुन थाल्यो। सन् १९८८ मा बनेको 'किला' उनको अन्तिम फिल्म थियो जसमा उनी दोहोरो भूमिकामा देखिएका थिए।
दिलीप कुमारले सन् १९९६ मा अभिनेत्री शायरा बानोसँग विवाह गरे। त्यो बेला उनी ४४ वर्षका थिए भने शायरा जम्मा २२ वर्षकी। सन् १९८२ को आसपास दिलीप कुमारको निजी सम्बन्ध पनि चर्चामा आयो। उनी एक जना डिभोर्सी महिला आश्मासँग नजिक भए। भनिन्छ, आश्मा दिलीपको घरमा तीन वर्ष सँगै बसेकी थिइन्। आश्माले आफ्ना पूर्वपतिसँग फेरि बिहे गरेपछि यी दुई छुटिएका थिए।
मेथड एक्टिङबाट चरित्रमा प्राण भर्ने दिलीपले विमल राय, बिआर चोपडा, सुबास घई, यश चोपडा, महबुब खानजस्ता निर्देशकका महत्वपूर्ण फिल्ममा सहकार्य गरेका छन्।
डायलग डेलिभरी र बडी मुभमेन्टमा विशेष काम गर्ने दिलीप कुमारको अभिनयले कयौं अभिनेतालाई प्रभावित गरेको छ। हिन्दी र अंग्रेजीबाहेक उर्दू भाषामा पकड हुनुले पनि उनको अभिनय यात्रामा सकारात्मक असर पारेको थियो।
तीमध्ये शाहरूख खान एउटा खास नाम हुन्। दिलीप कुमारको करिअरकै महत्वपूर्ण फिल्म 'देवदास' को नयाँ भर्सनमा शाहरूख खानले अभिनय गरेका छन्।
भारतका सदाबहार उत्कृष्ट फिल्मका सूचीमा दिलीप कुमारको 'देवदास', 'मधुमति', 'मुगल-ए-आजम' लगायत फिल्मको नाम छुट्दैनन्। यी फिल्मको सफलतामा उनको उपस्थिति र अभिनयको महत्वपूर्ण भूमिका छ। भारतका विश्वचर्चित निर्देशक सत्यजीत रेले उनलाई मेथड एक्टिङको मुग्धकण्ठले प्रशंसा गरेका छन्।
'शक्ति' फिल्ममा सँगै अभिनयसमेत गरेका अभिनेता अमिताभ बच्चनले दिलीप कुमारको सन्दर्भमा भनेका कुराले पनि उनको महत्व स्थापित गर्छ, 'जब भारतीय सिनेमाको इतिहास लेखिनेछ, त्यसमा दिलीप कुमारअघि र दिलीप कुमारपछिको इतिहास भनिनेछ।'
(एजेन्सीको सहयोगमा)