भारतीय सिनेमामा आफ्नो अलग छाप छोड्न सफल दीलिप कुमारको निधनपछि शोक व्यक्त गर्नेमध्ये अभिनेता शाहरुख खान पनि एक हुन्।
सन् २००२ मा रिलिज भएको फिल्म ‘देवदास’मा अभिनय गरेका शाहरुख खान आफ्नो अनिभय जीवनको श्रेय दीलिप कुमारलाई दिने गर्छन्। उनले सो फिल्ममा अभिनय गर्दा पनि दीलिप कुमारकै नक्कल गर्ने कोशिस गरेका थिए।
सन् १९५५ मा दीलिप कुमारको मुख्य अभिनयमा ‘देवदास’ रिलिज भएको थियो। सञ्जय लीला भन्सालीले पछि यसकै रिकेम फिल्म बनाएका थिए, जसमा शाहरुख खान, ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितको अभिनय थियो। सञ्जयको निर्देशनमा बनेको ‘देवदास’ त्योबेलाको सबैभन्दा महँगो भारतीय फिल्म थियो।
फिल्मले पाँच वटा नेस्नल फिल्म अवार्ड र एघार वटा फिल्म फेयर अवार्ड जितेको थियो। यस फिल्मबाट शाहरुखले राम्रो अभिनय गरेवापत प्रशंसा पनि पाए। तर शाहरुख आफैंले भने दीलिप कुमारजस्तो देखिने चाहनालाई आफ्नो मूर्खता ठानेका थिए।
पिंकभिल्लाका अनुसार सन् २०१२ मा नसरिन मुन्नी कबिरको ‘द डायलग अफ देवदास’ किताब सार्वजनिक गर्ने क्रममा शाहरुखले दीलिप कुमारको अभिनय चोर्न सक्ने खुबी कसैको नभएको बताएका थिए। ‘जसले दीलिप कुमारको नक्कल गर्न खोज्छन्, ती व्यक्ति मजस्तै मूर्ख हुन्,’ उनले भनेका थिए, ‘म कसैले राम्रोसँग रचना गरेको कलालाई फेरि पर्दामा उतार्न सक्ने मान्छे होइन। देवदासको रुपमा अभिनय गर्ने निर्णय लिने बेला म मूर्ख थिएँ। तर अहिले मलाई त्यो रोल खेल्न भनिएको भए म पक्कै अभिनय गर्न सक्दिन थिएँ।’
शाहरुखका अनुसार देवदासको छायांकन हुनुअघि उनीसहित निर्देशक सञ्जय, ऐश्वर्या र माधुरीले सन् १९५५ को फिल्म हेरेका थिएनन्। उनीहरु सबैले फिल्मको छायांकन सकिएपछि मात्र दीलिप कुमारको ‘देवदास’ हेर्ने सोच बनाएका थिए। यही सबैभन्दा ठूलो भूल भएको शाहरुखले बताए।
उनी भन्छन्, ‘हामीले अगाडि नै पुरानो ‘देवदास’ फिल्ममा दीलिप कुमारको अभिनय हेरेको भए पक्कै त्यसको रिमेक बनाउने हिम्मत गर्ने थिएनौं होला।’