बिहे भोजमा आउने पाहुनाको खानपिनको जिम्मा दुलहा वा दुलही पक्षका परिवारले लिने गर्छन्। पाहुनाले खाना खाएका छन् वा छैनन् हेरेर खाना दिने काम उनीहरुको हो। यसका लागि छुट्टै सहयोगी पनि राखिएको हुन्छ।
बिहेमा भोज खान जाँदा अतिथिका रुपमा आएका सिनेमाका कलाकारले खाना बाँड्न थाले भने कस्तो देखिएला? अझ खाना बाँड्नेमा अमिताभ बच्चन, आमिर खान, शाहरुख खान र ऐश्वर्या रायजस्ता प्रसिद्ध कलाकार परे भने?
बलिउड लाइफका अनुसार भारतका अर्बपति मुकेश अम्बानीकी छोरीको बिहेमा यस्तै भएको थियो। सन् २०१८ मा छोरी इशा अम्बानी र आनन्द प्रिमलको बिहेमा आएका पाहुनालाई अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय बच्चन र आमिर खानले बाँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। इशा अम्बानी र आनन्द प्रिमलको बिहेका फोटोहरु सामाजिक सञ्जालमा लिक भएको थियो।
भोजमा आएका पाहुनालाई चाँदीको भाँडामा खाना दिइएको फोटोले पनि चर्चा पाएको थियो। तर बलिउडका ठूला अभिनेताहरुलाई खाना बाँड्न लगाएको भन्दै केही फोटो देखेर भने फ्यानहरु आक्रोशित भएका थिए। भिडियोमा बच्चन परिवार, शाहरुख र आमिरले हाँसीहाँसी खाना बाँडेको देखेर फ्यानहरु अलमलमा पनि परेका थिए।
इशा अम्बानीको बिहेमा पाहुना भएर गएका कलाकारहरुले पाहुनालाई खाना बाँडेर हिड्ने कारणबारे धेरैलाई जिज्ञासा हुनु स्वभाविक थियो। कयौं प्रशंसकले ट्विटरमा यी सेलिब्रेटीलाई प्रश्न पनि सोधेका थिए, जसको जवाफ अभिनेता अभिषेक बच्चनले मात्र दिएका थिए।
एक फ्यानको ट्विटको जवाफ दिँदै उनले गुजरातमा दुलहीको परिवारले दुलाहाका परिवारलाई खाना खुवाउने चलन रहेको र यसको जिम्मा दुलही पक्षबाट आउने पाहुनाहरुले लिने गरेको बताए। यस्तो चलनलाई ‘सज्जन घोट’ भनिने अभिषेकले बताएका थिए।
अभिषेकको जवाफपछि पनि धेरै प्रशंसकहरुले सो बिहेमा ठूला कलाकारको अपमान भएको गुनासो गरेका थिए। बिहेमा सालमान खान र अभिषेक बच्चन ब्याकग्राउन्ड डान्सर बनेर मनोरञ्जन गराएका थिए। यसरी बलिउडका शीर्ष कलाकारलाई बिहेमा बोलाएर आफ्नो पाहुनाको मनोरञ्जनका नाच्न लगाएको भन्दै मुकेश अम्बानीको आलोचना समेत गरेका थिए।