बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री सान्या मलहोत्राले तेलुगू फिल्म ‘हिट’को हिन्दी रिमेकमा सँगै अभिनय गर्ने भएका छन्। सन् २०२० मा रिलिज भएको ‘हिट’ ब्लकबस्टर तेलुगू फिल्म हो।
विक्रम नामक प्रहरी अधिकारी आफ्नै व्यक्तिगत जीवनको दुख सामना गर्दै एक जना हराएकी केटीको अनुसन्धानमा लागेका हुन्छन्। ‘हिट’ उनकै कथामा आधारित छ।
शैलेश कोलानुको निर्देशकमा बनेको ‘हिट’मा तेलुगू अभिनेता भिस्वाक सेन र अभिनेत्री रुहानी शर्माको मुख्य अभिनय थियो। फिल्मले रिलिज भएको पहिलो हप्तामै आठ करोड भारुभन्दा बढी कमाइ गरेको थियो। यस फिल्मको बलिउड रिमेकमा अभिनेता राजकुमार राव देखिने भएका छन्। उनलाई अभिनयमा ‘दंगल’, ‘लूडो’ र ‘पगलाइट’ फिल्मकी अभिनेत्री सान्या मलहोत्राले साथ दिने इन्डिया टुडेले बताएको छ।
फिल्ममा काम गर्न सान्या निकै उत्साहित रहेको बताएकी छन्। ‘मैले हिट हेरिसकेकी छु र मलाई त्यतिबेला नै यसको कन्सेप्ट मनपरेको थियो,’ नयाँ प्रोजेक्टबारे कुरा गर्दै सान्याले भनेकी थिइन्, ‘जब मलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आयो म तुरुन्तै राजी भएँ। अहिले म फिल्म सुटिङको प्रतिक्षामा छु र राजकुमार रावसँग काम गर्न उत्साहित छु।’
यता अभिनेता राजकुमार राव पनि फिल्ममा काम गर्न आतुर छन्। उनका अनुसार नयाँ चरित्रहरुमा अभिनय गर्ने उनको इच्छा ‘हिट’ फिल्मले पूरा गर्न लागेको छ। उनी भन्छन्, ‘हिट’ फिल्ममा अहिलेको वास्तविक दुनियाँको अवस्था झल्किन्छ।
एक अभिनेताको रुपमा म सधैं नयाँ पात्रहरुको खोजीमा हुन्छु र यो फिल्मले मलाई मौका दिएको छ।’ ‘हिट’को हिन्दी रिमेकको सुटिङ यही वर्ष सुरु हुने इन्डिया टुडेले जनाएको छ।