बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान ‘विक्रम वेधा’को हिन्दी रिमेकमा एकसाथ देखिने भएका छन्। सन् २०१७ मा रिलिज भएको चर्चित तामिल फिल्म ‘विक्रम वेधा’मा अभिनेता आर माधवान र विजय सेतुपतीको मुख्य अभिनय थियो।
फिल्ममा आर माधवानले विक्रम पात्रको भूमिका खेलेका थिए जो एक पुलिस इन्स्पेक्टर हुन्छन्। विजय सेतुपती गुन्डा र लागू पदार्थ तस्कर वेधाको भूमिकामा देखिन्छन्। यो फिल्मका पात्र इन्स्पेक्टर विक्रम गुन्डा वेधालाई खोजेर मार्न लागिपरेका हुन्छन्। तर जब वेधाले स्वयम् विक्रमसमक्ष आत्मसमर्पण गर्छन्, उनले असल र खराबप्रतिको आफ्नो धारणाबारे तीन वटा कथा सुनाउँछन्। यही कथाको सेराफेरो ‘विक्रम वेधा’ फिल्म बनेको छ।
एक्सन–थ्रिलर ‘विक्रम वेधा’ले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो। यो फिल्मबाट दुवै अभिनेताले उत्कृष्ट अभिनय गरेर अवार्डसमेत जितेका छन्। फिल्मको यही सफलताका कारण निर्देशक पुष्कर र गायत्रीले हिन्दी रिमेक बनाउन लागेको द इन्डियन एक्सप्रेसले लेखेको छ। फिल्मको हिन्दी रिमेकमा ऋतिक रोशन र सैफ अली खानको अभिनय हुने जानकारी गत शनिबार घोषणा भएको हो।
प्रहरी र अपराधीको भूमिकामा ऋतिक र सैफबीच कडा टक्कर हुने देखिएको छ।
ऋतिक र सैफले सँगै एउटै स्क्रिनमा देखिन लागेको यो पहिलो पटक हो। ‘विक्रम वेधा’का निर्देशक निरज पाण्डेका अनुसार यो फिल्म आउँदो सेप्टेम्बर ३० मा रिलिज हुनेछ। हाल ऋतिक रोशन आफ्नो नयाँ फिल्म ‘फाइटर’को सुटिङमा व्यस्त छन्। यस फिल्ममा उनीसँगै अभिनेत्री दिपिका पादुकोण मुख्य भूमिकामा हुनेछिन्।
यसै गरी सैफ अलि खान भने नयाँ फिल्म ‘भूत पुलिस’को सुटिङमा छन्। यो फिल्ममा अर्जुन कपुर, यामी गौतम र ज्याकलिन फर्नान्डेजकाे मुख्य अभिनय छ।