अभिनेता आमिर खान हाल आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को छायांकनका लागि भारतको लद्दाखमा छन्। आमिरको निर्माणमा बन्न लागेको यो फिल्मकाे मुख्य भूमिकामा उनीसहित अभिनेत्री करिना कपुर र अभिनेता नागा चैतन्यको अभिनय छ।
भारतका सयभन्दा बढी स्थानहरुमा छायांकन गरिएको ‘लाल सिंह चड्ढा’का फिल्म क्रुलाई हालै छायांकन स्थलमा प्रदुषण फैलाएको आरोप लागेको छ। यही कारण सामाजिक सञ्जालमा समेत अभिनेता तथा निर्माता आमिर खानमाथि आलोचना भइरहेको बलिउड हंगमाले लेखेको छ।
एक जना ट्विटर प्रयोगकर्ताले ‘लाल सिंह चड्ढा’का क्रुले लद्दाखको वाखा गाउँमा फिल्मको छायांकन स्थलमा फोहोर छोडेर गएको बताएका छन्। उनले एक भिडिओसमेत सेयर गरेका छन् जसमा छायांकन स्थलमा पानीका बोत्तलहरु लापरवाहीपूर्वक फालिएको देखिन्छ।
‘यी फोहोर बलिउड स्टार आमिर खानले लद्दाखका गाउँलेहरुका लागि छोडेका छन्,’ भिडिओसँगै ती प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘आमिर आफ्नो टिभी कार्यक्रम सत्यमेव जयतेमा वातावरणीय सरसफाइका बारेमा ठूला कुरा गर्छन् तर व्यवहारमा आफूले भनेका कुरा भने गर्न सक्दैनन्।’
उनका अनुसार ‘लाल सिंह चड्ढा’को छायांकन त्यही फोहोर छोडिएको स्थानमा भएको थियो। उनले एक भिडियोमा फिल्म क्रुले छायांकन गरिरहेको दृश्य पनि सार्वजनिक गरेका थिए।
यता आमिर खानको टोलीले आरोपको खण्डन गर्दै सो भिडियो पुरानो भएको दाबी गरेका छन्। आमिर खानको प्रोडक्सन हाउस एकेपीले पनि सो भिडिओ र फिल्म क्रु सुटिङ क्रुमाथि लागेको आरोप झुटो भएको बताएको छ।
प्रोडक्सन हाउसले छायांकनमा सहभागी हरेक कर्मचारीले सबै प्रोटोकल अपनाएको र वरिपरिका स्थानहरु सफा राखेको एक सूचना मार्फत जनाएको छ। एकेपीले आफ्नो फिल्म कम्पनीले छायांकन गर्ने ठाउँ र वरपर सफा गर्न कडा प्रोटोकलको पालना गर्ने समेत उल्लेख गरेको छ। आफ्नो कम्पनीमाथि लागेको आरोपलाई अपवाह भन्दै एकेपीद्वारा जारी स्पष्टिकरणमा लेखिएको छ, 'हामी त्यस्ता दाबीहरूलाई कडाइका साथ अस्वीकार गर्दछौं। हामीले काम गर्ने स्थल स्थानीय अधिकारीहरूको लागि खुला रहन्छ उनीहरूले जहिले पनि जाँच गर्न सक्छन्।'
‘लाल सिंह चड्ढा’ हलिउड अभिनेता टम ह्यांक्सको चर्चित फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो।