बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नै प्रोडक्सन हाउस खोलेकी छिन्। करिब एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा काम गरिसकेकी उनले ‘आउटसाइडर्स फिल्म्स’ प्रोडक्सन हाउस सञ्चालन गरेर करियरमा नयाँ फड्को मारेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
तापसीले कन्टेन्ट क्रियटर तथा निर्देशक प्रन्जल खान्धडियासँगको सहकार्यमा नयाँ प्रोडक्सन हाउस खोलेकी हुन्। प्रांजल खंढडियासँग बीस वर्षभन्दा बढी समय अन्य प्रोडक्सन हाउसमा काम गरिसकेकी छन्। तीमध्ये ‘सुपर ३०’, ‘पिकु’, ‘मुबाकरण’, ‘अजहर’जस्ता फिल्मको प्रोडक्सन उल्लेख्य छन्।
‘यो नयाँ यात्राका लागि म निकै खुसी छु र सिनेमाप्रतिको मेरो माया अझ धेरै हुनेछ,’ प्रोडक्सन हाउस सञ्चालनको खुसीयालीमा तापसीले सामाजिक सञ्जालमा सेयर गरेकी छन्, ‘आउटसाइडर्स फिल्म्स’बाट बलिउडलाई म राम्रा फिल्महरु दिनेछु र मजस्तै फिल्म क्षेत्रभन्दा बाहिरका प्रतिभाहरुका लागि नयाँ ढोका खोल्नेछु।’
तापसीको विवाह आयोजना गर्ने कम्पनी र ‘७ एस पुने’ नामक ब्याडमिन्टन टोली पनि छ। पहिल्यैदेखि व्यवसाय भेन्चरहरु व्यवस्थापन गरिरहेकी उनको आफूले प्रोडक्सन हाउस पनि चलाउन सक्ने विश्वास छ। उनले भनेकी छन्, ‘फिल्म क्षेत्र र दर्शकहरुले मलाई मेरो ११ वर्षको करियरमा धेरै समर्थन र प्रेम दिएका छन्। त्यसैले पहिल्यैदेखि मेरो आफ्नै प्रोडक्सन हाउस स्थापना गर्ने सोच थियो।’
‘तापसी र मेरो लक्ष्य उस्तै छ, तर हाम्रो विचार र दृष्टिकोण भने फरक छ। यसले हाम्रा सहकार्यलाई बलियो बनाउने छ,’ यो नयाँ सुरुवातका लागि प्रांजल खंढडियाले भनेका छन्, ‘आउटसाइडर्स फिल्म्स’मा सँगै काम गर्दा हामीले आफ्नो सिर्जनात्मक लक्ष्य खोजी गर्ने अवसर पाउछौं र एकअर्काको काम गर्ने शैलीलाई पनि स्थान दिनेछौं।’
'थप्पड'बाट विशेष चर्चा पाएकी तापसीको ‘हसिना दिलरुबा’ पछिल्लो फिल्म हो। ‘लुप लपेटा’, ‘रश्मी रकेट’, 'दोबारा' र ‘सुबास मिठु’ उनका आगामी फिल्म हुन्।