अश्लील भिडिओ बनाएर विभिन्न एपबाट सार्वजनिक गरेको आरोपमा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा यतिबेला हिरासतमा छन्। उनको पक्राउपछि बलिउडमा यो घटनाले तरंग ल्याइदिएको छ। धेरैमा यस अभियोगमा अभिनेत्री शिल्पा सेट्टीको संलग्नता होला कि नहोला भन्ने जिज्ञासा बढेको छ। मुम्बई प्रहरीले उनको संलग्नताबारे अनुसन्धान गरिरहेको बताएको छ।
को हुन् त राज कुन्द्रा? सन् १९७५ मा बेलायतमा जन्मेका राज कुन्द्रा सफल ब्रिटिश-एसियन व्यवसायी हुन्। बेलायतमा जन्मेका उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। उनका बुबा बालकृष्ण कुन्द्रा लुधियानाका हुन्। कामको सिलसिलामा बालकृष्ण बेलायत पुगे। बस कन्डक्टरको कामसमेत गरेका उनले पछि आफ्नै व्यवसाय सुरु गरे। पढाइभन्दा व्यवसायमा रुचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए।
कुन्द्रा कलेज ड्रप आउट हुन्। बिबिसी हिन्दीका अनुसार व्यवसायमा राज कुन्द्राको भाग्य नेपाली पस्मिनाको व्यापारबाट चम्किएको हो। बेलायत र भारतका सेलिब्रेटीसँग राम्रो सम्बन्ध भएका राज कुन्द्राले त्यहाँका फेसन उद्योग र सिनेमा क्षेत्रमा पस्मिनाको व्यापार फैलाए। यस क्षेत्रमा बलियो पकड बनाएपछि उनको उनको व्यवसायले छोटो समयमै लामो छलाङ मारेको हो। केही वर्षमै बेलायत र भारत हुँदै उनको व्यवसाय संसारका थुप्रै देशमा फैलियो।
हाल राज कुंद्रा बिजनेस स्टील प्लान्ट, फेसन उद्योग, रियल इस्टेट, कन्स्ट्रक्सन, फोरेक्स इन्भेस्टमेन्ट र खेलकुद क्षेत्रमा लगानी गरेका छन्। संसारको १९८ औं धनी ब्रिटिश-एसियनको सूचीमा समेत परेका उनी सफल हीरा व्यापारी पनि हुन्। उनको व्यवसाय रूस, युक्रेन, संयुक्त अरबलगायत क्षेत्रमा फैलिएको बताइन्छ।
अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्रालाई अदालतले हिजो मंगलबार जुलाई २३ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।
उनलाई मुम्बई प्रहरीले सोमबार पक्राउ गरेको हो। प्रहरी अनुसार गत फेब्रुअरीमा मुम्बई क्राइम ब्रान्चमा दर्ता भएको एउटा उजुरीको अनुसन्धान गर्ने क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो।