पछिल्लो एक दशकमा गायिका नेहा कक्करले आफ्नै विगत फर्केर हेर्दा विश्वास नलाग्ने सफलता हात पारेकी छन्।
कयौं गायिकाको भीडमा पनि सजिलै छुट्टिने पृथक आवाजकी धनी नेहाका दर्जनौं गीत सुपरहिट छन्। फास्ट बिटका डान्स नम्बर र रिमिक्स गीतहरुमा पहिलो रोजाइ बनेकी नेहाको पहिलो हिट गीत 'ककटेल' फिल्मको 'सेकेन्ड ह्यान्ड जवानी' हो।
सन् २०१२ मा ककटेल फिल्ममा समावेश यो गीतपछि 'सन्नी सन्नी', 'लन्डन ठुमक्दा'जस्ता गीतले उनको स्वरको माग ह्वात्तै बढाइदियो। त्यसपछिका मिले हो तुम, आँख मारे, धातिङ नाच, दिलबरदेखि ओ शाकी शाकीजस्ता गीत चलेपछि त उनी बलिउड नगरीकी सेलिब्रेटी गायिकाका रुपमा स्थापित भइन्।
दर्जनौं हिट गीतकी यी गायिका नेहाले यु्ट्युबमा सबैभन्दा धेरै सुनिनेदेखि इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जालमा पनि धेरै फलोअर्स बनाउन सफल गायिकाका रुपमा चर्चा कमाएकी छन्।
स्टेज शोदेखि प्रोडक्ट लन्चसम्म व्यस्त नेहा रियालिटी शोहरुमा जजसमेत बनिसकेकी छन्। सन् २०१७ मा सारेगमपा लिटल च्याम्सकी जज बनेकी उनी सन् २०१८ यताका सबै इन्डियन आइडलमा जजका रुपमा देखिँदै आएकी छन्।
नेहाको यो सफलता उनले सहजै हात पारेकी भने हैनन्। यसका पछाडि लामो संघर्षले भरिएको कथा छ। उनको मेहनत र धैर्यको कहानी छ।
पिंकभिल्लामा नेहाले आफ्नो विगतको त्यही कहानी स्मरण गर्दै भनेकी छन्, 'यो संघर्षले भरिएको एउटा इमानदार यात्रा थियो। हाम्रो परिवारको हुर्काइ हेर्ने हो भने यो यात्रा मेरा लागि एकदमै सुखद हिसाबले चलिरहेको छ। मेरो यात्रालाई मेरा प्रशंसकहरुले अर्थपूर्ण बनाइदिनुभएको छ।’
भारतको उत्तराञ्चलमा जन्मेकी नेहाको परिवारको आर्थिक अवस्था कमजोर थियो। उनका बुबा खर्च जुटाउन समोसा बेच्थे तर त्यतिले पुग्थेन। यसका लागि नेहाले आफ्नी दिदी सोनु कक्कर र भाइ टोनी कक्करसँग मिलेर सानै उमेरदेखि धार्मिक गीत गाउनु पर्यो। दिन रात फरक-फरक ठाउँमा घुमेर गाउने काम उनीहरुका लागि सहज थिएन।
तर यो भोगाइले नेहाको गायकीमा भने फाइदा पुर्याइरहेको थियो। यसकै जगमा उनले सन् २००६ को इन्डियन आइडलको सिजन २ मा भाग लिइन्। यो सहभागिता उनको जीवनको निर्णायक मोड बन्यो। त्यसपछि उनी टेलिभिजनका कमेडी शोहरुमा देखिन थालिन्।
बलिउडमा ब्रेक पाएपछि भने उनको यात्राले गति लियो। संगीत उद्योगमा काम गर्दाको अनुभवबारे नेहा यसो भन्छिन्, ‘यहाँको संगीत उद्योगमा तपाईं अरुभन्दा कति फरक देखिनुहुन्छ त्यसको अर्थ छ तर त्यो भन्दा बढी असल मान्छे हुनु जरुरी छ।’
संगीत उद्योगका सबै साथीहरु असल भएको बताउने उनका लागि प्रेरणाको स्रोत भने आफ्नै दिदी सोनु कक्कर हुन्। नेहाले ४ वर्षको उमेरदेखि दिदीकै पछिपछि लागेर गाउन सिकेकी हुन्। सोनुजस्तै उनका भाइ टोनी पनि संगीतकार हुन्। भाइ टोनीको संगीतमा नेहाले मिले हो तुम र सावन आया है जस्ता चर्चित गीतहरु समेत गाएकी छन्। लन्डन ठुमक्दामा नेहासँगै स्वर दिएकी सोनु हिन्दीबाहेक दक्षिण भारतीय सिनेमामा समेत चर्चा कमाएकी गायिका हुन्।
नाम, दाम, प्रशंसा कमाएकी नेहाले वर्षकी सर्वाधिक चर्चित गायिकादेखि उत्कृष्ट जजसम्मको पुरस्कार पाएकी छन्। सफलताको शिखरमा चढिसकेकी ३३ वर्षीया नेहाको यात्रा अझै जारी छ।
‘धेरै काम पाइपलाइनमा छन्, ठूलो घोषणाबाट तपाईंहरुले जानकारी पाउनुहुनेछ,’ पिंकभिल्लालाई उनले भनेकी छन्।
सेलिब्रेटी जीवनमा रमाइला पक्षसँगै केही अप्ठ्यारा पनि जोडिएर आउँछन्। अचेल सामाजिक सञ्जालमा बन्ने ट्रोल, मिम्स र जोक्सले कलाकारलाई अनावश्यक विवाद र बखेडामा अल्झाइदिन्छ।
सामाजिक सञ्जालमा नेहा र उनका पति रोहनप्रीत सिंहबारे पनि व्यापक रुपमा यस्ता ट्रोल, मिम्स र जोक्स बन्ने गरेका छन्। तर नेहा आफूलाई यीसबैबाट खासै प्रभाव नपर्ने बताउँछिन्। उनी यस्ता कुरामा आफू नअलमलिने बताउँदै भन्छिन्, ‘कडा परिश्रम, विनम्रता, सिक्नका लागि खुला र आफूप्रति विश्वस्त हुन सकेमा अरुको प्रतिक्रियाले केही बिगार गर्न सक्दैन।’