चर्चित हलिउड फिल्म ‘जेम्स बोन्ड’ संसारभरका दर्शक माझ लोकप्रिय छ। सन् १९६२ देखि सुरु भएको जेम्स बोन्ड शृंखलाले सन् २०२१ सम्म आइपुग्दा पनि निरन्तरता पाउनु यसको लोकप्रियताको प्रमाण हो।
काल्पनिक बेलायती जासुसी एजेन्टमा आधारित जेम्स बोन्डको भूमिकामा थुप्रै हलिउड अभिनेताले अभिनय गरेका छन्। तीमध्ये जेम्स बोन्डको रुपमा बढी चर्चा कमाएका अभिनेता हुन् डानियल क्रेग।
डानियल क्रेगले यस वर्ष रिलिज भएको ‘नो टाइम टु डाइ', ‘बोन्ड इच ब्याक’’ फिल्ममा पनि अभिनय गरेका छन्। तर, यी चर्चित अभिनेताले कुनै बेला भारतीय फिल्म ‘रङ दे बसन्ती’मा अडिसन दिएको कुरा धेरैलाई थाहा नहोला। सन् २००६ मा रिलिज भएको फिल्म ‘रङ दे बसन्ती’मा अभिनेता आमिर खान, सिद्दार्थ, अतुल कुलकर्णी, कुणाल कपुर, सोहा अली खान, सरमन जोशी र अन्य विदेशी कलाकारले अभिनय गरेका छन्।
यो फिल्म राकेश ओमप्रकाश मेहराको निर्देशनमा बनेको हो। फिल्ममा एक जना बेलायती पात्र भारतको स्वतन्त्रताका लागि लडेका पाँचजना सहीदबारे कथा लेख्न भारत आएकी हुन्छिन्। उनको भारतीय विद्यार्थीसँग हुने भेटमा यो फिल्मको कथा आधारित छ। फिल्ममा सुइ म्याककिन्ले र जेम्स म्याककिन्ले नाम गरेका दुई बेलायती पात्र छन्। सुइ पात्रको भूमिका एलिस प्याटेनले अभिनय गरेकी थिइन् र जेम्सको भूमिका स्टिभेन म्याकिनटोसले अभिनय गरेका थिए।
तर, उनीहरु फिल्मका लागि चुनिनुभन्दा अघि जेम्स म्याककिन्ले पात्रका लागि जेम्स बोन्ड अर्थात् अभिनेता डानियल क्रेगले अडिसन दिएका थिए। यो कुरा ‘रङ दे बसन्ती’का निर्देशक ओमप्रकाश मेहराले आफ्नो आत्मकथा ‘द स्ट्रेन्जर इन द मिरर’मा लेखेको बलिउड हंगामाले जनाएको छ।
‘मलाई राम्रोसँग याद छ कि भारतीय स्वतन्त्रताका लागि लडेका भट्ट सिंह, राजगुरु र सुखदेवलाई फाँसीमा लैजाने जवान हवल्दार जेम्स म्याककिन्ले पात्रको लागि डानियल क्रेगले अडिसन दिन आएका थिए,’ ओमप्रकाशले आफ्नो किताबमा लेखेका छन्, ‘उनी मेरो पहिलो रोजाइमा थिए तर त्यहीबेला उनलाई जेम्स बोन्डको भूमिकाका लागि अफर आएको हुनाले उनले अझै केही समय पर्खिन भनेका थिए।
उनले अभिनय गर्न नभ्याउने भएपछि स्टिभेन म्याकिनटोसले जेम्सको म्याककिन्लेको भूमिका खेलेका हुन्।’ डानियल क्रेगले सन् २००६ मा नै ‘क्यासिनो रोयल’ फिल्मबाट जेम्स बोन्डको भूमिका खेलेका थिए। जेम्स बोन्ड पात्रका लागि उनले ‘रङ दे बसन्ती’मा अभिनय गर्न समय मिलाउन सकेका थिएनन्। तै उनलाई अझै पनि फ्यानहरु जेम्स बोन्ड नामले चिन्ने गर्छन्।