भारतीय अभिनेत्री दीपिका पादुकोणलाई एकपटक आफ्नो पूर्वप्रेमी रणवीर कपुर र श्रीमान रणवीर सिंहबीच भिन्नता छुट्टाउन लगाइएको थियो। उनलाई दुई अभिनेताको अभिनय शैलीमा के-कस्ता भिन्नता छन् भनेर तुलना गर्न भनिएको थियो। जसमा दीपिकाले उनीहरूका अभिनयबारे केही रोचक विवरण दिएकी छिन्।
दीपिका र रणवीर कपुर कुनैबेला एकअर्कालाई डेट गर्थे। उनीहरूको प्रेम सम्बन्ध बलिउड भित्र–बाहिर निकै चर्चित थियो। दुई वर्षको सम्बन्धपछि उनीहरूको ब्रेकअप भयो। तर ब्रेकअपपछि पनि उनीहरूले फिल्ममा रोमान्टिक जोडीका रूपमा अभिनय गरिरहे। उनीहरूको केमेस्ट्री दर्शकले रूचाए। अहिले रणवीर कपुर र दीपिका आफूहरू मिल्ने साथी भएको बताउँछन्।
दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग वैवाहिक सम्बन्ध गाँसिन्। उनीहरूले ‘राम–लिला’, ‘पद्मावत’, ‘बाजिराव मस्तानी’ र अन्य फिल्ममा सँगै अभिनय गरेका छन्। दर्शकले उनीहरूको अनस्क्रिन केमेस्ट्री निकै मनपराएका छन्।
दुवै अभिनेतासँग काम गरेकाले दीपिकालाई उनीहरूको अभिनय शैलीबारे ज्ञान छ। सन् २०१९ मा भएको ‘जियो मामी मुभी मेला’ कार्यक्रम दौरान दीपिकाले रणवीर कपुर र रणवीर सिंहको अभिनयमा रहेको फरक खुलासा गरेकी थिइन्।
उनका अनुसार रणवीर कपुरको अभिनय शैलीमा त्यस्तो केही विशेष छैन। रणवीर सिंह भने आफ्नो अभिनयमा निकै तल्लीन हुन्छन्।
‘रणवीर कपुरको काम गर्ने तरिका सहज छ। उनी कहिल्यै पनि आफ्नो भूमिकाका लागि पूर्व अभ्यास गर्दैनन्। यो कुरामा उनी मजस्तै छन्। हाम्रो अभिनय आधा रिहर्सल र आधा आफ्नै फ्लोको हुन्छ,’ दीपिकाले भनेकी थिइन्, ‘अर्कोतर्फ रणवीर सिंह अभिनय गर्नुअघि आफ्नो पात्रका लागि धेरै काम गर्छन्। आफ्नो पात्रका लागि उनी आफूले चड्ने गाडी, लुगा र पर्फ्युम समेत परिवर्तन गर्छन्।’
रणवीर सिंहबारे थप बताउँदै दीपिकाले भनेकी छन्, ‘रणवीर हरेक छ महिनामा फरक व्यक्ति हुन्छन्। यही कारण पनि हाम्रो सम्बन्ध यति लामो समयसम्म चलिरहेको छ। मलाई उनीसँग हुँदा कहिल्यै दिक्क लाग्दैन।’