अभिनेत्री कंगना रनावत र विवाद सँगसँगै जोडिएर आउने गर्छ। धेरै पटक उनले आफ्ना सहकर्मी कलाकारलाई नानाथरी आरोप लगाएकी छन्। उनकी दिदी रंगोली रनावत पनि कगंनासँग सम्बन्धित धेरै विवादमा फसेकी छिन्।
सन् २०१९ मा कगंना र रंगोलीले बलिउड अभिनेत्री आलिया भट्ट र उनको परिवारमाथि थुप्रै आरोप लगाएका थिए। त्यही बेला रंगोलीले आलियाका बुबा तथा निर्देशक महेश भट्टले कगंनालाई चप्पलले हानेको दाबी गरेको थिइन्।
उनले यो कुरा महेशकी श्रीमती सोनी राजदानको ट्विटमा बताएको कोइमोइले जनाएको छ। सोनी राजदानले आफ्नो ट्विटमा उनका श्रीमान महेश भट्टले कंगनालाई फिल्ममा पहिलो पटक काम दिएको तर कंगनाले भने उनको परिवार र आलियालाई अनावश्यक रुपमा हमला गरिरहेको बताएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘महेश ती व्यक्ति थिए जसले कंगनालाई ब्रेक दिए, तर पनि कंगना बारम्बार उनकै परिवारलाई हमला गर्छिन्।’ सोनीको सो ट्विटमा रिप्लाई गर्दै कंगनाकी दिदी रंगोलीले सन् २००६ मा ‘वो लम्हे’ फिल्मको स्क्रिनिङका बेला महेशले कंगनालाई चप्पल हानेको बताएकी हुन्।
उनका अनुसार ‘वो लम्हे’को अभिनयपछि कंगनाले महेशको नयाँ फिल्म खेल्न मानेकी थिइनन्। यसैको रिसमा महेशले ‘वो लम्हे’को प्रिमियरमा कंगनामाथि चप्पलको झटारो हानेर उनलाई थिएटरभित्र प्रवेश गर्न दिएका थिएनन्। रंगोलीको यो ट्विट अहिले ट्विटरमा छैन, किनकी उनले डिलिट गरिसकेकी छिन्। महेशलाई उनको श्रीमती सोनी राजदानको नयाँ फिल्मको स्क्रिनिङमा रंगोलीको आरोपबारे सोधिएको थियो।
उनले भनेका थिए, 'हाम्रो नैतिकताले हामीलाई आफ्नो बच्चालाई औंला उठाउन हुँदैन भनेर सिकाएको छ। यी हाम्रा बच्चा हुन् र उनीहरुको विरुद्धमा बोल्दा हाम्रो उद्देश्य पूरा हुन्छ तर हाम्रो जिउने तरिका भने बिग्रिन्छ।’
‘कंगना सानी बालिका हुन् जसले हामीसँग आफ्नो यात्रा सुरु गरिन्। यदि उनका आफन्तले हाम्रोबारे केही बोलेका छन् भने यसमा मैले आफ्नो मत राख्दा विषय धेरै तन्किनेछ,’ निर्देशक महेशले भनेका थिए, ‘म अन्तिम श्वाससम्म आफ्ना बच्चाहरुबारे केही नराम्रो बोल्ने छैन। मेरो नैतिकता, स्वभाव र विश्वासले त्यस्तो काम गर्न दिँदैन।’