अभिनेत्री तथा निर्माता अनुष्का शर्मा प्राय: सबैलाई आफू र क्रिकेटर विराट कोहलीबीचको प्रेम सम्बन्धबारे खुलेर बताइरहेकी हुन्छिन्। विभिन्न कार्यक्रममा उपस्थित हुँदा उनी विराटबारे बोल्न छुटाउँदिनन्। उनका श्रीमान विराट भने आफ्ना व्यक्तिगत कुरा गर्न खासै गर्दैनन्।
विराट सामाजिक सञ्जालमा अनुष्काको तारिफ खुलेर गर्छन् तर आफ्नो प्रेम सम्बन्धबारे बाहिर कार्यक्रममा धेरै बोलेका छैनन्। हालै भने उनले आफ्नो र अनुष्काको पहिलो भेटमा के भएको थियो भनेर खुलासा गरेका छन्। भारतीय क्रिकेटर दिनेश कार्तिकसँगको कुराकानीमा विराटले अनुष्कासँग पहिलो पटक भेट्दाको अनुभव सुनाएको बलिउड हंगामाले लेखेको छ।
विराट र अनुष्कालाई पहिलो भेटमा नै प्रेम भएको थिएन। उनीहरुको सम्बन्ध साथी जसरी सुरु भएको थियो। ‘म सबैसँग हँसीमजाक गर्छु। अनुष्कालाई पहिलो पटक भेट्दा पनि म उसैगरी मजाक गरिरहेको थिएँ,’ आफ्नो अनुभव सुनाउँदै विराटले भनेका थिए, ‘मैले त्यसरी जिस्किरहँदा अनुष्का चकित खाएकी थिइन्। त्यतिबेला अनुष्काले उनीसँग यसरी मजाक गर्ने म पहिलो व्यक्ति हो भनेकी थिइन्।’
सुरुको दिनमा दुवै जना एकअर्कासँग खुलेर बोलेको भएर नै उनीहरु चाँडै नजिक भएको विराटले बताए। क्रिकेटर दिनेशसँ कुराकानी गर्ने क्रममा विराटले आफ्ना स्वर्गीय बुबालाई पनि सम्झिएका थिए। उनले भनेका थिए, ‘यदि मेरो बुबा अहिले हामीसँग हुनु भएको भए उहाँले आफ्नो नातिनी भामिकासँग खुसी साट्न पाउनु हुन्थ्यो र उनलाई आशीर्वाद पनि दिनु हुन्थ्यो। बुबालाई भामिकासँग देख्न पाउने मेरो इच्छा अधुरै रह्यो।’
अनुष्का र विराट सन् २०१७ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए। उनीहरुले सन् २०२१ को फ्रेबुअरी ११ मा आफ्नो पहिलो सन्तान भामिकालाई जन्म दिएका थिए। उनीहरुको जोडीलाई अधिकांश भारतीयले मन पराउँछन्। कतिपय प्रशंसकले विराट र अनुष्काको छोरीलाई ‘विरुस्का’ नामले चिन्ने गर्छन्।