भारतीय र्यापर यो यो हनी सिंहकी श्रीमती सालिनी तलवारले हालै उनीविरुद्ध मुद्दा लगाएकी छिन्। सालिनीले हनी सिंहविरुद्ध घरेलु हिंसाबाट महिलाहरुको संरक्षण ऐन अन्तर्गत शारीरिक र मानसिक दुर्व्यवहार मुद्दा दायर गरेकी हुन्। उनका अनुसार र्यापरले उनलाई जनावरसरह क्रुर व्यवहार गरेका थिए। यसै विरुद्ध उनले दश करोड भारु क्षतिपूर्तिको माग गरेकी हुन्।
जिन्यूज इन्डियाका अनुसार महानगरका मुख्य अधिकारी तानिया सिंहले र्यापर हनी सिंहलाई उनको र सालिनीको नाममा रहेको सम्पत्तिमा कुनै तेस्रो पक्षको अधिकार नबनाउन वा श्रीमतीको गहना नबेच्ने सूचना पठाएकी छन्।
सालिनीका वकिलले जिन्यूजलाई यो कुरा बताएको टाइम्स अफ इन्डियाले बताएको छ। हनी सिंह र सालिनी तलवार सन् २०११ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए। तर सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो। उनले आफ्नो गायन करियरमा बाधा नआओस् भन्ने उद्देश्यका साथ वैवाहिक सम्बन्धबारे बोलेका थिएनन्।
यसअघि सालिनीले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यहारमा परेको बताएकी थिइन्। उनका अनुसार उनले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर त्यही रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए। र्यापर बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ‘ब्राउन रङ दे गीत’को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी छन्।
हनी सिंहमाथि लगाइएको यी आरोपबारे र्यापरले आफ्नो बयान दिन बाँकी छ। टाइम्स अफ इन्डियाका अनुसार अदालतले हनी सिंहलाई उनको र सालिनीको स्वामित्वको सम्पत्ति बेच्नबाट रोकेर सालिनी तलवारको पक्षमा अन्तरिम आदेश पारित गरेको छ।