अभिनेता रणवीर सिंह भारतीय निर्देशक तथा निर्माता सञ्जय लिला भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा देखिने भएका छन्। यसमा दीपिका पादुकोण पनि देखिने कुरा थियो।
भन्सालीकै निर्देशनमा बनेको ‘राम–लिला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ फिल्ममा रणवीर र दीपिका पादुकोणलाई सँगै देखेपछि प्रशंसकहरूले यो जोडीलाई नयाँ फिल्ममा पनि हेर्न पाउने अपेक्षा गरेका थिए।
तर अब उनी फिल्मबाट बाहिरिएको खबर बलिउड हंगामाले लेखेको छ।
रणवीर र दीपिका नयाँ फिल्ममा सँगै अभिनय गर्ने छैनन्। आफ्ना श्रीमानसँग रोमान्टिक जोडीका रूपमा अभिनय नगर्नुको कारण पारिश्रमिकको कुरा रहेको बलिउड हंगामाले जनाएको छ। दीपिकाले फिल्म खेलेवापत् रणवीरले पाउने जति नै पैसा मागेकी थिइन्। आफ्नो पारिश्रमिक रणवीरको भन्दा बढी वा कम नहुनु पर्ने उनको माग थियो।
तर उनको माग फिल्म टोलीले स्वीकार्न सकेन। त्यसैले दीपिका यो फिल्मबाट बाहिरिएकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अभिनेता र अभिनेत्रीबीचको समानताका लागि आवाज उठाउँदै केही समययता दीपिका समान पारिश्रमिकको माग गरिरहेकी छिन्। पछिल्ला फिल्ममा उनले मुख्य अभिनेताहरूले पाउने जत्तिकै पारिश्रमिक पाइरहेकी थिइन्। तर ‘बैजु बावरा’ले भने उनको यो प्रस्ताव टुक्राएको छ।
सञ्जय लिला भन्सालीको नजिका स्रोतले भने दीपिकालाई तीनपटक लगातार रणवीरसँग फिल्ममा देखिएको हुनाले योपटक नखेलाउनु ठीक कुरा रहेको बताएको छ।
बलिउड हंगामाका अनुसार दीपिकाले ‘बैजु बावरा’का लागि मागेको पारिश्रमिकको कुरा अभिनेत्री करिना कपुरले निर्देशक अलौकिक देसाईको हिन्दु महाकाव्यमा आधारित ‘रामायण’ फिल्ममा सिताको भूमिकाको लागि १२ करोड पारिश्रमिक मागेलगतै चर्चामा आएको हो।
दीपिकाको अभिनय रहेको आउँदो नयाँ फिल्म ‘के.जी.एफ भाग–२’ यही वर्ष रिलिज हुने तयारीमा छ।