संजयलीला भंसालीले नेटफ्लिक्स वेबसिरिज 'हीरा मन्डी' निर्देशन गर्ने भएका छन्। स्क्रोलडटइनका अनुसार नेटफ्लिक्सद्वारा मंगलबार सार्वजनिक वक्तव्यमा भंसालीले नेटफ्लिक्सका लागि वेबसिरिज निर्देशन गर्ने तय भएको बताइएको हो।
हीरा मन्डी लाहोर सहरको चर्चित वेश्यालय हो र फिल्मको कथा यसमै आधारित हुने जनाइएको छ।
'वेबसिरिजको कथा वेश्यावृत्तिमा संलग्न महिला र हीरा मन्डीको गोप्य सांस्कृतिक यथार्थमा आधारित हुनेछ, जसमा भारत स्वतन्त्र हुनुभन्दाअघिको समय चित्रण गरिने छ,' जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'यो श्रृंखला वेश्यालयभित्रको प्रेम, धोका, सफलता र राजनीतिबारे हुनेछ जसमा भंसालीको लार्जर द्यान लाइफ सेटहरू, बहुरंगी पात्रहरू र कर्णप्रिय संगीत पनि समावेश हुनेछ।'
बलिउडमा २५ वर्ष पूरा गरेको खुसियाली मनाइरहेका भंसालीले हालै गंगुबाई कठियावाडी फिल्मको काम सकाएका छन्।यसमा आलिया भट्ट मुम्बईको कोठीकी सञ्चालक बनेकी छन्। भंसालीले विगतमा लाहोरको क्वार्टर हीरामन्डीप्रतिको आफ्नो आकर्षणबारे बताएका थिए।
'हीरा मन्डी लाहोरको वेश्यालयबारे यस्तो खालको पहिलो र भव्य शृंखला हुनेछ,' भंसालीले प्रेस वक्तव्यमा भनेका छन्।
नेटफ्लिक्स इन्डियाकी मोनिका शेरगिलले थप भनेकी छन्, 'हीरामन्डी यस्तो कथा हुनेछ जसले दर्शकलाई अविश्वसनीय रुपमा भव्य, सुन्दर र कठोर दुनियाँमा पुर्याउनेछ।'
हीरामन्डीका कलाकारबारे भने जानकारी सार्वजनिक गरिएको छैन।