इन्टरनेट यस्तो ठाँउ हो जहाँ एक रातमा मान्छेको जीवन बदलिन्छ। इन्टरनेटले क्षणभरमै कयौंलाई संसारभर चिनाएको छ। उनीहरुको सपना र इच्छा पूरा गर्दै सफल बनाएको छ।
अहिले एक जना भारतीय बालक यसरी नै इन्टरनेटबाट चर्चित बनेका छन्। उनले गाएको ‘बचपनका प्यार’ गीतको भिडिओले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। सहदेव दिर्दो नामका ती बालकलाई अहिले सामाजिक सञ्जालमा नचिन्ने थोरै होलान्। उनले गाएका गीतको भिडिओ भारतको ट्रेन्डिङमा आएको छ।
भिडिओमा उनी आफ्नो विद्यालयको कक्षा कोठाभित्र देखिन्छन्, जहाँ उनी कसैलाई मतलब नगरी एकसुरमा क्यामरामा हेरेर श्रीनाथ कवालको ‘बचपनका प्यार’ गीत गाइरहेका छन्। सामान्य भिडियोबाट पनि सबैका मन जित्न सकेका सहदेव दिर्दोको कथा भने धेरैलाई थाहा छैन।
१४ वर्षीय सहदेव भारतको छत्तीसगढबाट हुन्। उनी त्यहीँको एक विद्यालयमा पढ्छन्। आठ वर्षको उमेरमा उनले आफ्नो आमा गुमाएका थिए। हाल उनी आफ्नो आफ्नो बुबासहित तीन दिदी, दाजुसँग बस्छन्। उनले कसरी ‘बचपन का प्यार’ गीत सुने र किन त्यो गीत गाए भनेर पनि बताएका छन्।
‘मेरो घरमा टिभी वा मोबाइल छैन। मैले त्यो गीत अरुकै मोबाइलबाट सुनेको थिएँ,’ अफिसियल हुमन्स अफ छत्तीसगढसँग कुरा गर्दै सहदेवले भनेका थिए, ‘सन् २०१९ विद्यालयमा गणतन्त्र दिवस मनाउने क्रममा एकजना शिक्षकले मतिर क्यामरा तेर्साएर जुन भए पनि एउटा गीत गाउन लगाए। अनि मैले त्यही गीत गाएँ।’
दुई वर्षअघि सहदेवले गाएको त्यो गीत सबैले भुलिसकेका थिए, तर अहिले त्यही भिडिओ इन्स्टाग्रामबाट भाइरल भएको छ। भिडिओका कारण रातारात इन्स्टाग्राम स्टार भएका सहदेवको घरमा सुरुका दिनमा फोटो र भिडियो खिच्नेहरुको भीड लाग्न थाल्यो। आफ्नो चर्चा देखेर सहदेव खुसी थिए। भिडियो भाइरल भएको केही दिनमा नै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल उनलाई भेट्न आए र बधाइ दिए।
यसले सहदेवको चर्चा भारतभर झनै बढ्यो। हाल सात कक्षामा पढ्ने सहदेवको सो भिडियो लाखौंले हेरेका छन्। मन्त्री, प्रहरीदेखि बलिउडका कलाकारले उनको भिडिओ मन पराएका छन्। यसले गर्दा सहदेवलाई थुप्रै अवसरहरु पनि आएको छ। सहदेवकै भिडियो हेरेर भारतीय गायक बादसाहले आफ्नै रिमिक्समा ‘बचपनका प्यार’ गीत गाएका थिए।
उनको भिडिओले पाँच करोड पचास लाख भ्युज पाइसकेको छ। आफ्नो रिमिक्स हिट भएपछि बादसाहले सहदेवसँग पनि सम्पर्क गरेका थिए। उनले पछि सहदेवसँगै काम गरेर गीत बनाउने बताएका छन्। यससँगै र्यापरले सहदेवको शिक्षाको सबै खर्च हेर्ने जिम्मेवारी लिएका छन्। निम्न वर्गीय परिवारबाट आएका सहदेवलाई फेरी आफ्नो पुराना दिन फर्केर हेर्नु परेको छैन। सबैबाट पाएको माया र साथबाट उनले जीवनमा अघि बढ्ने सपना बुन्न थालिसकेका छन्।