पाकिस्तानी गायक आतिफ असलम आफ्ना हिट गीतहरुका कारण पाकिस्तान र भारत दुबै देशमा परिचित छन्। ‘पिया ओ रे पिया’, ‘ओ साथी’, ‘तु जाने ना’ जस्ता गीत गाएका उनको सुरिलो स्वरको लाखौं प्रशंसक छन्। उनले थुप्रै अवार्ड पनि जितेका छन्।
हालै उनले शाहरुख खानको फिल्ममा गीत गाउन आफूलाई हटाएर गायक अरिजीत सिंहलाई राखेको बताएका छन्।
केही समयअघि आतिफले अभिनेता शाहरुख खानका लागि गीत गाउन अस्वीकार गरेको कुरा बलिउड स्टारहरुले बताएका थिए। एक अन्तर्वार्ताको क्रममा उनले साँच्चिकै बलिउडका राजा शाहरुखको फिल्ममा गीत गाउन नमानेको हो भनेर सोधिएको थियो, जसको जवाफमा आतिफ ती सबै हल्ला मात्रै रहेको भनेका थिए।
‘त्यस्तो कुरा अहिलेसम्म भएको छैन, सबै हल्ला मात्रै हो,’ आतिफले भनेका थिए, ‘मैले शाहरुखलाई एक पटक मात्र भेट्न पाएको छु र उनी निकै राम्रो मान्छे छन्। उनले मलाई व्यक्तिगत रुपमै आएर आफ्नो फिल्ममा गीत गाउन भनेका छैनन्। दोस्रो, उनको टिमले चाँहि मलाई गीत गाउन भनेका थिए र मैले उनीहरुलाई गीत रेकर्ड गरेर पठाएको थिएँ। सो टिमले पछि मलाई गीत गाउन बोलाएनन् र पक्कै पनि उनीहरुले यो कुरा शाहरुखसँग सल्लाह गरेर निर्णय लिएका थिएनन्।’
आतिफले कुनै दिन शाहरुखका लागि गर्वका साथ गीत गाउने बताएका छन्। उनी भन्छन्, ‘शाहरुखका लागि म कहिल्यै व्यस्त हुने छैन। उनका लागि गीत गाउन पाए म निकै खुसी हुनेछु।’
कोइमोइका अनुसार साहरुखको फिल्म भनिएको सो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दिलवाले’ हो र सुरुमा आतिफलाई गाउन लगाइएको गीत ‘गेरुवा’ थियो। त्योबेला आफूले पठाएको गीत रेकर्डिङबारे फिल्मको टिमले कुनै प्रतिक्रया नदिएपछि आफ्नो सट्टा अरु गायकलाई राखेको हुन सक्ने अनुमान गरेको आतिफले बताए। पछि ‘गेरुवा’ गीत भारतीय गायक अरिजीत सिंहले गाएका थिए।
पर्दामा शाहरुख र काजोलले अभिनय गरेको यो गीत निकै चर्चित बनेको थियो।
रोहित सेट्टीको निर्देशनमा बनेको ‘दिलवाले’मा साहरुख खान, काजोल, वरुण धवन र कृति सनोनको अभिनय छ। यो सन् २०१५ मा यो फिल्म विदेशी बजारमा सबैभन्दा धेरै कमाइ गर्ने छैटौं फिल्म बन्न पुगेको थियो।