बलिउड अभिनेता शाहरुख खानका प्रशंसक संसारभर भेटिन्छन्। फिल्म क्षेत्रमा उनले काम गरेको ३० वर्ष भइसक्यो। उनका दुई छोरा र एक छोरी छन्।
शाहरुखका अनुसार जेठो छोरा आर्यन खान निर्देशन र छोरी सुहाना अभिनेत्री बन्न चाहन्छन्। सुहाना खान अभिनेत्री बन्ने तयारी गरिरहँदा प्रशंसकहरु पनि उनलाई फिल्ममा हेर्न आतुर छन्।
बलिउडमा काम नगरे पनि सुहानाले बेलायतमा भएको रोमियो एन्ड जुलियट नाटकमा अभिनय गरिसकेकी छन्। उनले छोटो फिल्म 'द ग्रे पार्ट अफ ब्लु'मा पनि अभिनय गरेकी छिन्। यो फिल्मको अभिनयबाट उनले सामाजिक सञ्जालमा धेरै प्रंशसा पाएकी थिइन्। अब भने उनी छिट्टै बलिउड फिल्ममा पनि डेब्यू गर्ने भएकी छिन्।
बलिउड हंगामाका अनुसार सुहानाले निर्देशक जोया अख्तरको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्। ‘जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मकी निर्देशक जोया इन्टरनेसनल कमिक किताब ‘आर्ची’मा आधारित भारतीय संस्करण बनाउन काम गरिरहेकी छिन्, जुन पछि नेटफ्लिक्समा रिलिज हुने हल्ला छ। यो टिनेज रोम–कोम फिल्म हुने र यसमा जोयाले शाहरुखकी छोरी सुहानालाई मुख्य पात्रको रुपमा लिने अनुमान गरिएको छ।
यसबारे शाहरुख र सुहानाले कुनै आधिकारिक निर्णय दिएका छैनन्, त्यसैले फिल्मको कागजातका कामहरु अझै बाँकी छ। यदि सुहानाले ‘आर्ची’मा अभिनय गर्न तयार भइन् भने यो उनको पहिलो बलिउड फिल्म हुनेछ। सुहानासँगै जोयाले फिल्ममा अन्य दुई स्टार कलाकारका छोराछोरीलाई अभिनयमा लिने कुरा चलेको बलिउड हंगामाले जनाएको छ।