यस पटक 'इन्डियन आइडल–१२' का विजेता पवनदीप राजन भए। गायिका अरुणिता कान्जीलाल पहिलो रनर–अप भइन्। इन्डियन आइडलको विजेता भएपछि यी दुई गायकका लागि अवसरका ढोकाहरु खुलेका छन्। उनीहरु थुप्रै सांगीतिक कार्यक्रममा सहभागी भइसकेका छन्।
यही क्रममा हालै पवनदीप र अरुणिताले बलिउड अभिनेता हृतिक रोशनका बुबा राकेश रोशन र आमा पिंकी रोशनलाई पनि भेट्ने मौका पाएका छन्। ‘राकेश र पिंकी रोशन हामीलाई देखेर भावुक हुनु भयो र हामी दुबैलाई अँगालो हाल्नु भयो,’ राकेश र पिंकीसँगको भेटबारे कुरागर्दै पवनदीप राजनले भने, ‘हामीले केही गीत पनि गायौं र उहाँहरुले हाम्रो उपस्थिति मन पराउनु भयो।’
टाइम्स अफ इन्डियाका अनुसार सो भेटमा हृतिककी आमा पिंकीले पवनदीपलाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार दिएकी थिइन्। ‘पिंकीजीलाई त्यो सुनको रुद्राक्ष सिक्री उहाँको बुबाले दिनुभएको रहेछ,’ पवनदीपले भने, ‘म आफैं एउटा रुद्राक्ष माला किन्न खोजिरहेको थिएँ र पिंकी जीले मलाई त्यही उपहार दिनु भयो।’
राकेश र पिंकी रोशन इन्डियन आइडलका विजेता पवनदीप र अरुनिताको ठूलो प्रशंसक थिए र उनीहरुलाई भेट्न चाहिरहेका थिए। भेटमा पवनदीप र अरुणिताले रोशन दम्पतिसँग तीन घण्टा बिताए। सो भेटमा पवनदीप र अरुणिताले हृतिक रोशनसँग भने लामो समय भेट्न पाएनन्।
‘हृतिकसँग हामीले एकैछिन मात्र भेट्न पायौं,’ पवनदीप भन्छन्, ‘उनले अरुणिता र मलाई शुभकामना दिए र जीवनमा मेहनत गरेर अझै अगाडि बढ्न सुझाव दिए।’
टाइम्स अफ इन्डियाका अनुसार अहिले पवनदिप र अरुणिता राज सुरानीको निर्देशनमा नयाँ गायन सिरिजको तयारी गर्दै छन्। उनीहरु विभिन्न समारोहमा सहभागी भई भिडियोमा पनि देखिने भएकोले गायनसँगै नृत्य गर्न सिकिरहेका छन्।