पंकज त्रिपाठी थोरै भारतीय अभिनेतामध्ये एक हुन् जसको महामारीको समयमा ओटिटी प्लेटफर्महरुमा धेरै फिल्म सार्वजनिक भएको छ। फिल्म र वेबसिरिजमा व्यस्त पंकज अहिले आफ्नो करिअरको उत्कर्षमा छन्।
'मिर्जापुर' वेबसिरिज र 'लुडो' फिल्मको सफलतापछि उनको माग र व्यस्तता धेरै बढेको छ।
विहारको विकट गाउँबाट आएका त्रिपाठी एक दशक लामो संघर्षपछि स्थापित कलाकार हुन्। सन् २००३ देखि छोटा भूमिकामा फिल्ममा काम गर्दै आएका त्रिपाठी सन् २०१२ को अनुराग कश्यप निर्देशित 'ग्यांग्स अफ वासेपुर' पछि धेरैको नजरमा परे। यसमा उनी सुल्तानको भूमिकामा देखिएका थिए।
न्यूटन, मसान, माजिल, गुरागाँव, कागज, अनवरका अजब किस्सा, योर्स ट्रुली र पछिल्लो मिमी उनका केही प्रमुख फिल्म हुन्। नवाजुद्दिन सिद्दीकीपछिका सर्वाधिक सफल अभिनेताका रुपमा काम र प्रशंसा पाइरहेका त्रिपाठीले आफ्नो सफलता आफैंलाई अपत्यारिलो लागेको बताएका थिए।
त्रिपाठीले सफलतापछि आफ्नो जीवनशैलीमा आएको परिवर्तनबारे पिंकभिल्लासँग कुराकानी गरेका छन्। भर्खरै एउटा लग्जरी कार किनेको उल्लेख बताउँदै उनले आफ्नो घर हेरचाह गर्न कर्मचारी पनि राखेको बताए।
निजी जीवनमा जस्तै उनको सार्वजनिक छविमा पनि व्यापक बदलाव आइरहेको छ। 'युवा कलाकारहरु अचेल मेरो खुट्टा छुन थालेका छन्। उनीहरुकाे यस्तो व्यवहार मलाई धेरै अप्ठ्यारो लाग्छ।'
मैले भर्खरै सेनाका जवानहरुलाई भेटेपछिको अनुभव सुनाउँदै उनले भपे, 'इन्टरनेट नभएको बेला मेरा फिल्म डाउनलोड गर्न उनीहरु धेरै उचाइँमा जाने रहेछन्। मेरो फिल्म उनीहरुको लामो र कठिन रातको साथी भएको कुरा सुनेर म निकै भावुक भएँ। विहारको केटा ग्लासियरमा खटिएको सैनिक जवानको साथी बन्न सक्छ भनेर मलाई कसरी थाहा हुन्थ्यो! यो उनीहरुको विनम्रता हो। कहिलेकाहीँ मलाई लाग्छ कि मानिसहरुले मलाई जुन माया दिएका छन् मलाई थाहा छैन त्यसको ऋण कसरी तिर्ने हो।'
'सायद उनीहरुलाई मेरो भूमिकाको माध्यमबाट हाँस्न वा सोच्न बाध्य पारेर म यो त्यो ऋण तिर्न सक्षम हुनेछु।'
उनले आफ्नो जिम्मेवारी बढेको बताउँदै यो पनि भने, 'पहिले मैले आफ्नो घरमात्र चलाउनु पर्ने थियो। अचेल मेरा कर्मचारीहरु पनि ममा निर्भर छन्। मैले पनि उनीहरुबारे सोच्नु पर्छ।'