अभिनेता रजत बेदीलाई लापरवाहीका कारण ज्यान लिएको अभियोग लागेको छ। गत सोमबार अभिनेता रजत बेदीको कारले एक जना पैदलयात्रीलाई ठक्कर दिएको थियो।
बलिउड हंगामाका अनुसार ती पैदलयात्रुको उपचारका क्रममा निधन भएपछि अभिनेता वेदी विरुद्ध डिएन नगर प्रहरीले एफआइआर दर्ता गरेको छ।
अभिनेता वेदीको आफ्नो घर फर्कने क्रममा अँधेरी नजिकैको एउटा मन्दिर छेउको बाटोमा दुर्घटना भएको थियो। खबर अनुसार राजेश बुध नाम गरेका ३९ वर्षीय श्रमिकको मृत्युबारे कुपर अस्पतालले पुष्टि गरेको हो।
रिपोर्टका अनुसार नशामा रहेका ती व्यक्ति अचानक सडकको बिचमा गुडिरहेको बेदीको कारसामु आइपुगेका कारण दुर्घटना भएको थियो। त्यसपछि पीडितलाई अस्पताल भर्ना गरेर अभिनेता बेदीले उनको परिवारलाई सहयोग गर्ने आश्वासन दिएका थिए।
दुर्घटनापछि प्रहरीले बेदीमाथि तीव्र गति र लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा मुद्दा दायर गरेको थियो।
बेदीले 'कोइ मिल गया' र 'पार्टनर' जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन्।