अभिनेता हृतिक रोशनको अनिभय भएको पहिलो फिल्म ‘कहो ना प्यार है’ सन् २००० मा रिलिज भएको थियो। फिल्म हलहरुमा लागेको केही दिनमा नै ब्लकबस्टर भयो र हृतिकको चर्चा रातारात उचाइमा पुग्यो।
यो फिल्म हृतिकको लागि बलिउडमा सफल प्रवेश बन्यो, त्यससँगै यसले बलिउडमा एउटा इतिहास रचेको थियो। ‘कहो ना प्यार है’ एक केटीको कथावरिपरि घुम्छ जसले आफ्नो प्रेमीको हत्यारा उसको जस्तै अनुहार भएको अर्का व्यक्ति मार्फत पत्ता लगाउछिन्।
राकेश रोशनको निर्देशनमा बनेको यो फिल्मले उतिबेला नै ९२ वटा अवार्ड जितेको थियो। यो हालसम्म बलिउड फिल्मले जितेको सबैभन्दा धेरै अवार्ड हो। यसरी ‘कहो ना प्यार है’को नाम सन् २००२ को गिनिज बुक अफ वर्ल्ड रेकर्डमा धेरै पुरस्कार जित्ने फिल्मको रुपमा जोडिएको थियो।
‘कहो ना प्यार है’ले सर्वश्रेष्ठ फिल्मको अवार्ड पाएको थियो। त्यसबाहेक फिल्मसँग सम्बन्धित अन्य कलाकार र कर्मचारीले पाएका अवार्ड पनि यसमा समावेश छ। यही फिल्मबाट हृतिक रोशनले आफ्नो डेब्यू अभिनयका लागि एकैपटक दुवै सर्वश्रेष्ठ डेब्यू र सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए।
त्यस्तै, राकेश रोशनले सर्वश्रेष्ठ निर्देशक, फरआन खानले सर्वश्रेष्ठ कोरियोग्राफर, राजेश रोशनले सर्वश्रेष्ठ म्यूजिक निर्देशक, रवि कपुर र हनी इरानीले सर्वश्रेष्ठ स्क्रिन प्ले, लक्की अलि र अल्का याग्निकले सर्वश्रेष्ठ प्लेब्याक गायक गायिकाको अवार्ड पाएका थिए।
‘कहो ना प्यार है’को अर्को रोचक तथ्य भनेको यो फिल्मभर अप्रत्यक्ष रुपमा कोकाकोलाको विज्ञापन गरिएको थियो। फिल्म हिट हुने बित्तिकै कोकाकोलाले हृतिक रोशनलाई आफ्नो कम्पनीको नयाँ क्याम्पेन मोडलको रुपमा राखेको थियो। टाइम्स अफ इन्डियाका अनुसार ‘कहो ना प्यार है’ कन्नडाको ब्लकबस्टर फिल्म ‘रथ सप्तमी’बाट प्रेरित थियो। सो फिल्ममा अभिनेता शिवराजकुमार र अभिनेत्री असरानीको अभिनय थियो। बलिउड रिमेकमा भने हृतिक रोशन र अमिसा पटेलको मुख्य भूमिका थिए।