नोरा फतेही बलिउड कुशल र आकर्षक नृत्यबाट चर्चा कमाउन सफल कलाकार हुन्। चाहे फिल्मको गीतमा होस्, चाहे स्टेज, नोराको नाचले त्यसलाई 'हिट' बनाउने विश्वास गर्नेहरू धेरै छन्।
'दिलवर', 'ओ साकी साकी', 'नाच मेरी रानी', 'एक तो कम जिन्दगानी' जस्ता चलेका गीतमा उनले यही क्षमता देखाएर लाखौंको मन जितेकी छन्। कम समयमा उनले पाएको सफलता लोभलाग्दो छ तर यसको पृष्ठभूमिमा उनको कडा संघर्षको कथा पनि छ।
हालै 'भुज- द प्राइड अफ इन्डिया' फिल्ममा अभिनय गरेकी नोराले पिंकभिल्लासँगको अन्तर्वार्तामा संघर्षका क्रममा आफूलाई हिन्दी बोल्न नआउँदा धेरैले मजाक बनाएको बताएको कोइमोइले छापेको छ।
उनले भनिन्, 'मैले हिन्दी सिक्न थाले तर मेरो लागि अडिसन एकदमै पीडादायी बन्यो। वास्तवमै मानसिक रूपमा म तयार थिइनँ र मैले आफैंलाई मूर्ख बनाएँ। मानिसहरु माफ गर्ने खालका थिएनन्। उनीहरु मेरो अगाडि यसरी हाँसे, मानौं म कुनै सर्कसको पात्र हुँ। उनीहरुले मलाई धम्की दिन्थे। यो अपमानजनक थियो। म घर फर्कंदा बाटोमा रुन्थेँ।'
नोरा रियालिटी सो 'बिग बोस ९' मा सहभागी भएपछि धेरैको नजरमा परेकी हुन्। बिग बोस ९ मा प्रिन्स नारुलासँगको उनको रोमान्स कार्यक्रमकै हाइलाइट बनेको थियो। त्यसपछि उनी 'बाहुबली' को 'मनोहरि' गीतमा पनि उनलाई दर्शकले निकै मनपराए।
उनलाई छलाङ मार्न सघाउने फिल्म भने 'सत्यमेव जयते' भयो। यो फिल्मको 'दिलवर' गीतसँगै नोराको चर्चा उक्लिन थालेको हो। यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन।
मोरक्कन परिवारकी उनी क्यानडामा जन्मेकी हुन्। क्यानडाकी नागरिक नोराले बलिउडसँगै भारतका क्षेत्रीय फिल्महरूमा समेत काम गरिसकेकी छन्। धेरै अन्तर्वार्तामा उनले आफूलाई 'मनबाट भारतीय हुँ' भनेकी छन्।