‘ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्ममा परेश रावलको चरित्रलाई विशेष मन पराइएको थियो।
तर झन्डै एक दशकपछि बन्न लागेको यो फिल्मको सिक्वलमा परेश रावल देखिएनन्। उनको ठाउँमा पंकज त्रिपाठीले अभिनय गर्ने खबर बाहिर आयो। बलिउड हंगामाले पारिश्रमिकमा सहमति नहुनुलाई परेश रावल ‘ओ माइ गड २’ मा नदेखिने मुख्य कारण बताएको छ।
बलिउड हंगामाले लेखेको छ, 'ओ माइ गड २' का निर्माताको पहिलो प्राथमिकतामा परेश रावल नै थिए। उनीहरुले रावलसँग कुरा पनि अगाडि बढाइसकेका थिए। पहिलो भागको सफलतामा रावलको मुख्य भूमिका भए पनि उनले आफ्नो बजारमूल्यभन्दा बढी माग गरे। तर अत्याधिक पारिश्रमिक तिर्दा यसले निर्मातामाथि आर्थिक भार बढाउँथ्यो।'
खबर अनुसार, 'त्यसपछि परेशले सेयर साझेदारका रुपमा प्रस्ताव गरे र त्यसले पनि काम गरेन किनकी फिल्ममा पहिल्यै एकभन्दा बढी निर्माता थिए। धेरै पटकको छलफलमा पनि कुरा मिलेन। अभिनेता रावललाई आफूलाई प्रस्ताव गरिएको भन्दा बढी पाउनुपर्ने लागेपछि उनले फिल्मबाट हात झिके। त्यसैले पनि रावलले छोडेपछि मात्र पंकज त्रिपाठीसँग सम्झौता भएको थियो।'
आश्विन वरदेको प्रोडक्सनमा बन्ने ‘ओ माइ गड २’ अमित राईको निर्देशनमा बन्न लागेको हो। पुरानो फिल्म ‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो। सिक्वल भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्।