लागुपदार्थ मामिलामा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनले यो साता आफ्ना बुवाबाट चार हजार पाँच सय भारू नगद पाएका छन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबभन्दा धेरै रकम यति नै हो।
यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन्। आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन्। उनको सुनुवाइ अक्टोबर २० तारिकमा मात्र हुनेछ।
एनडिटिभीका अनुसार आर्यनलाई उनको परिवारसँग भिडिओ कल गर्न पनि दिइएको छ। हिरासतमा रहेकाले आफ्ना परिवारसँग साताको दुईपटक भिडिओ कलमा कुराकानी गर्न पाउने नियम कोरोनाका कारण लागू गरिएको थियो।
आर्यनले भने हालसम्म एकपटक मात्र आफ्नो परिवारसँग कुराकानी गरेका पनि एनडिटिभीले लेखेको छ।
बुवा शाहरूखले पठाइदिएको पैसा आर्यनले सोमबार पाएको र भिडिओ कल भने शुक्रबार गरेको बताइएको छ।
जेलका सुपरिटेन्डेन्ट नितीन वेचलले भने आर्यनलाई जेलकै खाना दिइरहेको दावी गरेका छन्। उनका अनुसार अदालतको आदेश नआउन्जेल आर्यनलाई घर वा बाहिरको खाना दिइने छैन।
२३ वर्षीय आर्यनको जमानतका लागि गरिएको अपील चौथोपटक अस्वीकृत भएपछि उनलाई जेलमै पठाइएको थियो। आर्यनले झन्डै दुई साता जेलमा बिताइसकेका छन्।
बुवा शाहरूख र आमा गौरीले हालसम्म आर्यनको पक्राउबारे कुनै प्रतिक्रिया दिएका छैनन्।