‘मानिके मगे हिथे’ युट्युबमा १६ करोडभन्दा बढी भ्युज पाएको गीत हो। ट्रेडिङमा आउन सफल यो चर्चित गीत श्रीलंकाकी गायिका/र्यापर योहानी डिलोका डिसिल्भाले गाएकी हुन्। बलिउड हंगामाका अनुसार यो गीतको हिन्दी भर्सनसहित यी गायिकाले बलिउडमा डेब्यु गर्ने भएकी छन्।
उनको यस गीतको रिक्रिएट भर्सन निर्देशक इंद्र कुमारको 'थ्यांक गड' फिल्ममा समावेश हुने भएको हो। 'थ्यांक गड'मा अजय देवगन, सिद्धार्थ मल्होत्रा र राकुल प्रीत सिंह मुख्य भूमिकामा देखिने छन्।
स्पोटिफाइ, एप्पल म्युजिकलगायत विभिन्न प्लाटफर्ममा नम्बर एक बन्न सफल ‘मानिके मगे हिथे’ युट्युब म्युजिकको पाँचौ स्थानमा पर्न सफल भएको थियो।
२२ मे २०२१ मा सार्वजनिक यो गीत श्रीलंकाकाे सिन्हाली भाषाामा सार्वजनिक भएको हो। एक जना ग्रामीण युवतीको गाउँले युवाप्रतिको आकर्षणलाई गीतमा प्रस्तुत गरिएको छ।
चमक संगीथको संगीतमा बनेको गीतको ओरिजिनल भर्सनमा सथिशन रत्नायकको स्वर छ। तर यो गीतमा जब योहानीको स्वर मिसियो यसले संसारभरका दर्शकको मन जित्यो।
सर्वसाधारणदेखि विभिन्न नाम चलेका गायक गायिका योहानीकै भर्सन संसारभरका दर्जनौं भाषामा गाए। यही गीतको तालमा नृत्य भिडिओ बनाए। सामाजिक सञ्जाल भाइरल यो गीत भारतमा विशेष लोकप्रिय बन्यो। यो गीत भारतका हिंदी, तमिल, मलयालम, बंगलालगायत भाषामा गाइसकिएको छ।
भारतको चर्चित रियालिटी सो बिग बोसमा समेत यो गीतले स्थान पाएको थियो। बलिउड अभिनेताले समेत यो गीतको सामाजिक सञ्जालमार्फत् प्रशंसा गरेका थिए।
मेलोडियस संगीत र मधुर स्वरको ‘मानिके मगे हिथे’ चल्नुमा २८ वर्षीया योहानीको सौन्दर्यले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ।
थ्यांक गड फिल्ममा समावेश हुने ‘मानिके मगे हिथे’को हिन्दी भर्सनलाई संगीतकार तनिष्क बागचीले संगीत दिने बलिउड हंगामाले जनाएको छ।
गायिका योहानीको जन्म श्रीलंकाको राजधानी कोलम्बोमा ३० जुलाई, १९९३ मा भएको हो। सन् २०१६ बाट युट्युबरका रुपमा सक्रिय भएकी उनले श्रीलंकामा ‘र्याप प्रिन्सेज’ को उपाधि पाएकी छन्।