बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदन अस्वीकार भएको छ। बुधबार अदालतले आर्यनलाई जमानतमा रिहा नगरिने निर्णय सुनाएको हो।
गत असोज १७ गते मुम्बईको एनार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो। उनी दुई हप्तादेखि मुम्बईको आर्थर रोड जेलमा छन्।
गत बिहीबार आर्यनका वकिलले अदालतमा गिरफ्तारीको क्रममा लागुपदार्थ बरामद नभएको र आर्यन विरुद्ध कुनै मुद्दा नपरेकोले उनलाई रिहा गर्नुपर्ने तर्क गरेका थिए। जबकि एनसीबीले अनुसन्धानका लागि हिरासत अवधि लम्ब्याउनु आवश्यक रहेको माग राख्दै आएको छ।
१४ अक्टोबरमा भएको सुनवाइमा सेसन्स अदालतका न्यायधीस बीबी पाटिलले सबै पक्षका कुरा सुनेपछि आर्यनको जमानतको फैसला २० अक्टोबरका लागि सारेका थिए।
आज बुधबार न्यायाधीशले आर्यनलगायत अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अनुरोध खारेज गरेका हुन्।
एनडिटिभीका अनुसार अब आर्यनका वकिलले मुम्बई हाइकोर्टको ढोका ढकढकाउनु पर्ने हुन्छ।
यो पनि पढ्नुहोस्: उत्तरप्रदेश चुनावलाई लक्ष्य गरेर शाहरूख खानमाथि निशाना!