बिहिबार भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको थियो। शाहरुख खानको छोरा आर्यनका नजिकको साथी रहेकी अनन्यालाई एनसीबीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएका हुन्। सोधपुछक्रममा अनन्याले दुई वर्षअघि आर्यनका लागि गाँजा मिलाउने काम गरेको बताएकी छन्।
लागुऔषध प्रकरणमा आर्यनसँग अनन्याको पनि सम्बन्ध देखिएपछि उनले आफ्नो हातबाट नयाँ फिल्म खेल्ने मौका गुमाएकी छिन्। कोइमोइका अनुसार अनन्याले दक्षिण भारतका सुपरस्टार अभिनेता विजयसँग नयाँ फिल्म ‘थालपथी ६६’मा अभिनय गर्ने कुरा थियो।
फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो, तर अब भने अनन्यालाई सो फिल्मबाट हटाइएको छ। अर्को वर्ष रिलिज हुने भनिएको ‘थालपथी ६६’ वाम्शी पेडीपल्लीको निर्देशन र दिल राजुको निर्मातामा बन्न लागेको हो। यता बिहिबार भएको सुोधपुछमा एनसीबीले अनन्या र आर्यनबीच ह्वाट्सएप च्याट पनि हेरेका थिए। च्याटमा उनीहरुबीच लागुऔषधबारे कुराकानी भएको देखिएको थियो।
आर्यनले उनका लागि लागुऔषध मिलाउन मिल्छ भनी सोधेका छन्, जसको जवाफमा अनन्याले ‘आफू प्रयास गर्ने’ बताएकी थिइन्। एनसीबीसँग भने उनी केवल आर्यनसँग जिस्किरहेको बताएकी छन्। हालसम्म अनन्याले आर्यनका लागि लागुऔषधको व्यवस्था गरेको कुनै प्रमाण भने भेट्टिएको छैन, तर उनीहरु नियमित लागुऔषधबारे कुराकानी गरिरहने देखिएको कोइमोइले जनाएको छ।