रोहित सेट्टी बलिउडका यस्ता निर्देशक हुन् जसले अहिलेसम्म बनाएका सबैजसो फिल्म सय करोड क्लबमा परेका छन्। अर्थात्, उनका सिनेमाले सय करोड भारूभन्दा बढ्ता आम्दानी गरेको छ। त्यसैले उनलाई बलिउडमा 'हिट मेसिन' भनिन्छ।
बलिउडका यी 'हिट मेसिन' ले सन् २०११ मा ल्याएका थिए- सिंघम।
अजय देवगन अभिनीत बहादुर प्रहरीको चरित्र देखाइएको यो सिनेमाले बक्स अफिसमा धूम मच्चायो। त्यसको तीन वर्षमा रोहितले अजय देवगनलाई नै लिएर 'सिंघम रिटर्न्स' लिएर आए।
त्यसपछि सन् २०१८ मा आयो, 'सिम्बा' जसमा रोहितका प्रिय अजय देवगन मुख्य भूमिकामा थिएनन्।
एक दक्षिण भारतीय फिल्मको रिमेक 'सिम्बा' मा रणवीर सिंहलाई उनले बहादुर प्रहरीको भूमिकामा मैदानमा ओराले जो सुरूमा भ्रष्टाचारमा लिप्त हुन्छन् तर पछि व्यक्तिगत कारणले उनलाई प्रहरीको नैतिकताबाट च्यूत भएकोमा पछुतो हुन्छ। उनी इमानदारीको बाटोमा लाग्छन्।
सिम्बालाई भ्रष्टाचारबाट इमानदारीको बाटोमा अग्रसर गराउन सिंघमको ठूलो हात रहन्छ।
भन्नुको मतलब, रोहित सेट्टीले रणवीर सिंह अभिनीत 'सिम्बा' मा आफ्ना प्रिय अजय देवगन अर्थात् सिंघमलाई अतिथि भूमिकामा उतारेका छन्।
'सिम्बा' हेर्नुभएको छ भने तपाईंहरूलाई याद होला, त्यो सिनेमाको अन्त्यमा एक अर्का बहादुर प्रहरी अधिकृतलाई पर्दामा देखाइन्छ जो आतंकवाद नियन्त्रण ब्युरो प्रमुख हुन्छन्। ती प्रहरी अधिकृत हुन्, सूर्यवंशी।
'सिम्बा' फिल्मको अन्त्य सिंघम बनेका अजय देवगन र सूर्यवंशी बनेका अक्षय कुमारबीचको माेबाइल कुराकानीमा हुन्छ। यसबाट रोहित सेट्टीले आफ्नो आगामी 'सुपर कप' फिल्म सूर्यवंशीको घोषणासमेत गरेका थिए।
सिम्बा रिलिज भएलगत्तै बलिउड फिल्मका प्रशंसकहरूमाझ सूर्यवंशीको पर्खाइ सुरू भएको थियो। रोहितले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि नै यो फिल्मको रिलिज मिति घोषणा गरिसकेका थिए। तर महामारीका कारण संसारै लकडाउनमा गएपछि यो फिल्म भनेको समयमा रिलिज हुन पाएन। त्यसपछि पटकपटक नयाँ रिलिज मिति तोकियो र पटकपटक सर्दै गयो।
आखिरमा कोरोना महामारी मत्थर हुन थालेपछि अब यही नोभेम्बर ५ मा यो फिल्म रिलिज हुने भएको छ।
यो फिल्मको विशेषता के भने, यसमा सूर्यवंशी, सिंघम र सिम्बालाई एकसाथ देख्न पाइनेछ। अर्थात्, यसमा अक्षय कुमारसँगै अजय देवगन र रणवीर सिंहले पनि अभिनय गरेका छन्।
बलिउड फिल्म विश्लेषकहरूले यो फिल्म कोरोना महामारीपछिको पहिलो सुपरहिट साबित हुने अनुमान गरेका छन्। रिलिज भएको कम समयमै यसले सिम्बाको रेकर्डलाई उछिन्ने र २०० करोड भारू कमाउने अनुमान गरिएको छ।