बलिउड अभिनेता डेनी डेन्जोङ्पाका छोरा रिन्जिङले निर्देशक निलेश सहायको फिल्म 'स्क्वाड'बाट डेब्यु गर्ने भएका छन्। चार सय जना स्टन्ट म्यानले भरिएको फाइट र रोमाञ्चक हेलिकप्टर चेजजस्ता दृश्यका साथ अन्तर्राष्ट्रिय क्रु मेम्बरको संलग्नताले यो वर्षकै प्रतिक्षित फिल्म मानिएको फाइभ दरिया न्युजले लेखेको छ।
एक्सन प्रधान यो फिल्मबारे रिन्जिङले भनेका छन्, 'स्क्वाडमा काम गर्दा गज्जबको अनुभव भयो। यसक्रममा हामीले सबै कुरा देख्यौं- प्यान्डेमिकका कारण प्रतिकुल मौसम र सेवा सुविधामा कठिनाइका बावजुद हामी माथि थियौं। यस फिल्मबाट डेब्यु गर्न पाएकोमा मलाई गर्व छ र निलेशसँग काम गर्न पाउनुलाई ठूलो अवसर मानेको छु। दर्शकले 'स्क्वाडलाई कसरी लिनुहुनेछ भनेर म हेर्न उत्सुक छु।'
फिल्म पूजा बत्रा, मोहन कपुर र अमित गौरको निर्माणमा बन्न लागेको हो। सुरक्षा फौजबीचको प्रतिस्पर्धा वरिपरि घुम्ने यस फिल्मको केन्द्रमा सानी बालिकाको कथा छ जसले सबै आफन्तलाई गुमाएकी हुन्छिन्। देशभक्ति र भावनात्मक सम्बन्धको चित्रण गर्ने यस फिल्ममा एमआइजी ८, रोमाञ्चक हेलिकप्टर प्रतिस्पर्धा र चार सय सैनिकसहितको फाइट देखाइएको खबरमा जनाइएको छ।
यो बेलारुसमा छायांकन भएको पहिलो भारतीय फिल्म हो। निर्देशक, निर्माता र लेखक निलेशले भने, 'प्यान्डेमिकका कारण हामीले धेरै चुनौती भोगे पनि फिल्मको गुणस्तरमा सम्झौता बिना तयार भएको छ र स्क्वायडले एक्सन दृश्यहरुको चित्रणमा उदाहरण स्थापित गर्नेमा म ढुक्क छु।'
स्क्वाडमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय क्रु मेम्बरहरुको संलग्नता हुनु फिल्मको विशेषता मानिएको छ। यसमा 'म्याड म्याक्स फ्युरी'का स्टन्ट संयोजक किएर बेक, 'क्वान्टम अफ सोलेस' र 'क्लास अफ टाइटन्स'का क्यामेरा सहायक विलियम हम्फ्रिस, 'किङ अर्थर : लिजेन्ड अफ द स्वोर्ड' र 'द विचर ३ : वाइल्ड हन्ट'का स्टन्ट कोरियोग्राफर मेसिएज क्विएतकोस्की जस्ता चर्चित फिल्मका प्राविधक तथा कलकाकार संलग्न छन्।
फिल्ममा अभिनेता रिन्जिङ र अभिनेत्री माल्विकाले खतरनाक स्टन्ट दृश्यहरु गरेको बताइएको छ। रिन्जिङले अभिनेत्री माल्भिका राजका साथमा अभिनय गर्न लागेको यो फिल्म नोभेम्बर १२ मा सार्वजनिक हुनेछ।