कोरोना महामारीपछि बलिउडकै सबभन्दा ठूलो रिलिज मानिएको 'सूर्यवंशी' ले बक्स अफिसमा धूम मच्चाउन थालेको छ।
शुक्रबार रिलिज यो फिल्मले पछिल्लो तीन दिनमा गरेको व्यापारले अक्षय कुमारका अघिल्ला तीन फिल्मलाई समेत उछिनेर नयाँ रेकर्ड राखेको छ।
बलिउडका व्यापार विश्लेषक तरन आदर्शले आफ्नो ट्वीटरमार्फत् 'सूर्यवंशी' फिल्मको तीन दिनको बक्स अफिस तथ्यांक सार्वजनिक गरेका छन्। यसअनुसार सूर्यवंशीको कमाइ झन्डै ८० करोड भारू पुगेको छ। यसलाई उनलाई 'म्यासिभ हिट' भनेका छन्।
यो रकम अक्षय कुमारकै अघिल्ला तीन फिल्मले तीन दिनमा गरेको कमाइभन्दा बढी हो।
सन् २०१९ मा अक्षय कुमारका तीन फिल्म रिलिज भएका थिए। सबभन्दा पहिला आएको 'केशरी' होलीलाई लक्ष्य गरेर रिलिज गरिएको थियो। त्यसले चार दिनमा ७८ करोड भारू व्यापार गरेको थियो।
त्यसै वर्ष दिपावलीलाई लक्ष्य गरेर रिलिज भएको 'हाउसफुल ४' ले तीन दिनमा ५३ करोडभन्दा बढी व्यापार गरेको थियो। वर्षको अन्तिमतिर आएको 'गुड न्यूज' को व्यापार झन्डै ६६ करोड रह्यो। 'गुड न्यूज' को समग्र व्यापार भने कोरोनाका कारण प्रभावित भयो।
सन् २०१९ को अन्त्यबाट विश्वव्यापी फैलिएको कोरोना महामारी र लकडाउनले अन्य सबै क्षेत्रसँगै फिल्म व्यवसाय पनि प्रभावित भयो। बलिउडका धेरै फिल्मको रिलिज रोकियो भने कतिपय फिल्म नेटफ्लिक्स, अमेजन लगायत इन्टरनेट प्लेटफर्ममा सार्वजनिक गरिए।
रोहित सेट्टी निर्देशित 'सूर्यवंशी' को रिलिज मिति पनि लकडाउन सुरू हुनुभन्दा अगाडि नै घोषणा भइसकेको थियो। तर निर्माताहरूले महामारीको त्रासबीच फिल्म रिलिज गर्न चाहेनन्। यसको रिलिज मिति पटकपटक सरिरह्यो।
आखिरमा यो फिल्म यस वर्ष दिपावलीलाई लक्ष्य गरी गत शुक्रबारबाट सार्वजनिक प्रदर्शन गरिएको छ।
अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कट्रिना कैफ अभिनीत यो फिल्म नेपालमा पनि महामारीपछिको सबभन्दा ठूलो रिलिज हो। यहाँ एकैचोटि सयवटा हलमा प्रदर्शन गरिएको वितरक मनोज राठीले बताएका छन्।
रोहित सेट्टी बलिउडका यस्ता निर्देशक हुन् जसले अहिलेसम्म बनाएका सबैजसो फिल्म सय करोड क्लबमा परेका छन्। उनका सिनेमाले सय करोड भारूभन्दा बढ्ता आम्दानी गरेको छ। त्यसैले उनलाई बलिउडमा 'हिट मेसिन' भनिन्छ।
बलिउड फिल्म विश्लेषकहरूले यो फिल्म कोरोना महामारीपछिको पहिलो सुपरहिट साबित हुने अनुमान गरेका छन्। रिलिज भएको कम समयमै यसले 'सिम्बा' को रेकर्डलाई उछिन्ने र २०० करोड भारू कमाउने अनुमान गरिएको छ।