यो वर्षको क्रिसमसमा रिलिज हुन लागेको आमिर खानको महत्वाकांक्षी चलचित्र ‘लाल सिंह चड्ढा’ आगामी २०२२ को भ्यालेन्टाइन डे को समयमा प्रदर्शन हुने भएको छ।
कोरोना भाइरस र लकडाउनपछि आमिरले यो फिल्मको शुटिङ थालेका हुन् । फिल्मलाई कलकत्ता, पञ्जाव, राजस्थान, गुजरातलगायत कैयन् ठाउँमा छायांकन गरिएको छ।
सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक रहेको यस फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन्।
फिल्ममा आमिर खान र करीना कपूरको जोडी देख्न सकिनेछ। आमिर र करीनाले यसअघि ‘थ्री इडियट्स’ र ‘तलास’ मा काम गरिसकेका छन् । खान र कपुरबाहेक नागा चैतन्य, मोना सिंह र मानव वीजेलाई मुख्य भूमिकामा देख्न सकिन्छ।
चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिएका छन्।
चलचित्रमा भारतका ऐतिहासिक घटनाक्रमलाई देखाइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सन् १९६८ देखि सन् २०१८ सम्मका ऐतिहासिक घटनालाई फिल्ममा समावेस गराइएको छ।
सन् १९६८ देखि २०१८ सम्म भारतमा भएका सबै महत्वपूर्ण घटनाक्रम १०८३ को विश्वकप क्रिकेट, अपरेसन ब्लु स्टार, रथ यात्रा, १९९९ को कारगिल युद्व आदिलाई फिल्ममा देखाइने भएको छ।
आमिर खान, किरण रावको लगानीमा बनेको यो चलचित्र नायक आमिर खानले यसअघिको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि यसमा निकै मिहिनेत गरिरहेका छन्।