भारतीय किसान युनियन (बिकेयु) का कार्यकर्ताले फाजिल्का जिल्लाको जलालाबाद सहरमा अक्षय कुमार अभिनित फिल्म 'सूर्यवंशी' प्रदर्शन रोकेका छन्।
ट्रिब्युन इन्डियाका अनुसार अभिनेता अक्षयले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा बारम्बार किसानविरूद्ध बयान दिएको भन्दै किसान युनियनका नेताहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले गत शनिबार र आइतबार सिनेमा प्रदर्शनमा रोक लगाएका छन्।
बिकेयु कार्यकर्ताले तीनवटा कृषक विरोधी कानुन ल्याएका प्रधानमन्त्री मोदीको अक्षयले प्रशंसा गरेको आरोप लगाएका छन्। यही रिसमा पञ्जाबका किसानले जलालाबादका सिनेमा सञ्चालकहरूलाई सूर्यवंशी प्रदर्शन नगर्न भन्दै विरोध प्रदर्शन गरेका थिए। बिकेयु उपाध्यक्ष गुरविन्दर सिंह मान्नेवालाले प्रदर्शनको नेतृत्व गरेका थिए।
अभिनेता अक्षयले किसानहरूलाई 'आतंकवादी र नक्सलवादी' भनेका थिए र गत वर्ष प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए। त्यसैले उनीहरूले भविष्यमा पनि अक्षय कुमारको कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने निर्णय गरेका छन्।
कृषकहरूले अक्षयको फिल्म प्रदर्शन गर्ने हल मालिक आफैं नोक्सानीको जिम्मेवार हुने चेतावनीसमेत दिएका छन्।
यसैगरी जिराकपुरमा समेत ‘सूर्यवंशी’ प्रदर्शन गर्न नदिने भन्दै किसान युनियनका सदस्यले ढिल्लोन प्लाजा र कस्मो मलबाहिर विरोध प्रदर्शन गरेको ट्रिब्युन इन्डियाले जनाएको छ।