अभिनेत्री शिल्पा सेट्टी जेलबाट छुटेका श्रीमानसँग पहिलोपटक सार्वजनिक रूपमा देखिएकी छिन्। पवित्र तीर्थयात्रा क्रममा शिल्पा उनका श्रीमान तथा व्यापारी राज कुन्द्रासँग धर्मशालामा देखिएका हुन्। पोनोग्राफीको मुद्दामा जेल परेका राज कुन्द्रा पनि जमानतपछि पहिलोपटक सार्वजनिक रूपमा बाहिर आएका हुन्।
राज जुलाई महिना पोनोग्राफी मुद्दामा जेल परेका थिए। उनले सेप्टेम्बरमा जमानत पाएका थिए। उनको जमानतपछि शिल्पाले आफ्नो सामाजिक सञ्जालमा घुम्न गएको फोटोहरू हालिरहेकी थिइन्। तर उनले राजसँगै कुनै फोटो पोस्ट गरेकी थिइनन्। राजले भने केही दिनअघि आफ्ना सबै सामाजिक सञ्जालहरू हटाएको 'द इन्डियन एक्सप्रेस'ले जनाएको छ।
राजको पक्राउपछि शिल्पाबारे अनलाइन ट्रोल बन्न थालेको थियो। यसबारे उनले एक पत्र लेख्दै भनेकी थिइन्, ‘पछिल्ला केही दिनहरू हरेक क्षेत्रमा चुनौतिपूर्ण छन्। हल्ला र आरोपहरू धेरै आएका छन्। मिडिया र शुभचिन्तकहरूले पनि ममाथि अनुचित आशंका गरेका छन्। मलाई मात्र नभइ मेरो परिवारमाथि पनि ट्रोल र प्रश्नहरू खडा भएको छ। मैले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। यो मुद्दा न्यायधीन भएकोले म आफ्नो अडानमा बस्नेछु। त्यसैले कृपया मेरो तर्फबाट झुटा कुराहरू राख्न बन्द गर्नुहोस्।’
शिल्पा पछिल्लोपटक डान्स रियालिटी कार्यक्रम ‘सुपर डान्सर–४’ मा निर्णायकको रूपमा देखिएकी थिइन्। उनी अब ‘इन्डियाज गट ट्यालेन्ट’मा देखिने छिन्।