बलिउड अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ। यश राज फिल्म्सको ब्यानरमा बनेको फिल्म 'पृथ्वीराज' का टिजर सोमबार रिलीज भएको हो।
फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर, सञ्जय दत्त र सोनू सूदको मुख्य भूमिका छ। फिल्म चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन्। मानुषीले यही फिल्ममार्फत् बलिउडमा डेब्यु गरेकी हुन्।
एनडिटिभीका अनुसार 'पृथ्वीराज' २१ जनवरी २०२२ मा सिनेमाघरहरू रिलीज हुनेछ।
फिल्मको टिजर रिलिज भएपछि सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। मुख्यगरी अक्षय कुमारको लुक्सको विशेष चर्चा भइरहेको हो। यसमा अक्षय 'हाउसफूल ४' मा देखिएका राजकुमार बालाको भूमिकामा जस्तै देखिएका छन्।
एक ट्विटर प्रयोगकर्ताले अक्षय कुमारको पोस्टमा कमेन्ट पनि गरेका छन्, 'यस्तो लाग्दैछ, अक्षय कुमार सिधै हाउसफूल-४ को सेटबाट पृथ्वीराज फिल्मको सेटमा सुटिङ गर्न पुगे। अभिनय राम्रो छ तर सबै जसो फिल्ममा लुक्स एउटै खालको भयो। हाउसफूलको बाला, सूर्यवंशी र अब पृथ्वीराज। अक्षयले आफ्नो लुक्समा काम गर्नुपर्ने जरूरी देखिन्छ।'
अर्का एक प्रयोगकर्ताले पनि लेखेका छन्, 'अक्षय कुमार हाउसफूल ४ का बालाजस्तै देखिएका छन्। मैले हाउसफूल नहेरे पनि बाला गीत धेरैपटक सुनेको छु। जब मैले पृथ्वीराजको टिजर हेरेँ, बज्छ कि भनेझैं प्रतीक्षा गरिरहेको थिएँ।'
तर धेरै प्रशंसकहरूले यो टिजरको प्रंशसा गरेका छन्।
अक्षय कुमारको हालै मात्र फिल्म 'सूर्यवंशी' रिलिज भएको थियो। यो फिल्मले डेढ सय करोड भारूभन्दा बढी कमाइसकेको छ।