बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको चर्चा चलेको धेरै भइसक्यो। यी दुई चर्चित जोडीको बिहे यही डिसेम्बरमा हुने खबरले भारतीय मिडियामा विशेष प्राथमिकता पाइरहेको छ।
दुवै पक्षबाट हालसम्म बिहेबारे कुनै सार्वजनिक घोषण नआए पनि विभिन्न स्रोतको हवाला दिएर एकपछि अर्को जानकारी बाहिर आइरहेको छ।
टाइम्स अफ इन्डियाका अनुसार अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै विक्की र कट्रिनाले आफ्नो बिहेमा थोरै पाहुनालाई मात्र बोलाउने भएका छन्। बिहेको कार्यक्रम भारतको राजस्थानस्थित रोयल प्यालेस ‘सिक्स सेन्सेस फोर्ट बर्बारा’ मा भव्य रुपमा आयोजना हुनेछ। यसका लागि उनीहरुले आफ्ना नजिकका साथीहरुलाई बिहेको निमन्त्रणा दिइसकेको खबर छ।
आफ्नो विशेष दिनमा यो जोडीले सलमान खान, आलिया भट्ट, करण जोहर र बोस्को मार्टिस लगायत चर्चित कलाकारलाई बोलाइसकेको स्रोतले जनाएको छ। यी पाहुना विक्की र कट्रिनाको बिहेमा उपस्थित हुन्छन् वा हुँदैनन् भन्नेबारे भने निश्चित भइसकेको छैन।
डान्स कोरिओग्राफर बोस्को कट्रिनाको निकै मिल्ने साथी भएकोले उनी बिहेमा आउने अनुमान छ। निर्देशक करण जोहरले पनि उनीहरुको बिहेमा उपस्थित हुने इच्छा देखाइरहेका छन्।
सलमान खानले भने विक्की र कट्रिनाको बिहे छुटाउन सक्नेछन्। उनीहरुको बिहेको समयमा सलमानको रियादमा 'दबंग' फिल्मको टुर जुरेको छ। त्यसैले उनी आफ्नो पूर्वप्रेमिका तथा मिल्ने साथी कट्रिनाको बिहेमा आउने छैनन्।
बलिउडका यी ठूला कलाकारसँगै बिहेमा विक्की र कट्रिनाका आफन्त र अन्य साथीहरु पनि देखिने छन्। उनीहरुको बिहे समारोह राजस्थानमा तीन दिनसम्म हुनेछ। बिहेको रिसेप्सन भने मुम्बईमा भव्य तरिकाले हुने टाइम्स अफ इन्डियाले जनाएको छ।