लेखक ट्विंकल खन्नाले आफू र आफ्ना पति अभिनेता अक्षय कुमारबीच घरायसी खर्च बाँडफाँटको कस्तो समझदारी छ भनेर सार्वजनिक गरेकी छन्।
ट्विक इन्डिया युट्युब च्यानलका लागि अभिनेता काजोलसँगको संवाद क्रममा ट्विंकलले भनिन्, 'अक्षय र मैले घरको कुन खर्च कसले गर्ने भनेर प्रस्ट छुट्टयाएका छौं। जस्तो, अरू सबै घरायसी खर्च अक्षयको कमाइबाट हुन्छ, केटाकेटीको पढाइ खर्च भने सबै म बेहोर्छु। त्यो म अक्षयलाई कुनै हालतमा खर्च गर्न दिन्नँ। मैले छोराछोरीकाे पढाइ खर्च बेहोर्नुको कारण छ। भोलि म उनीहरूलाई गर्वसाथ भन्न सक्छु- तिमीहरू शिक्षित छौ, आफ्नो खुट्टामा उभिन काबिल छौ, यो सब मेरो कारणले भएको हो।'
बलिउडका सुपरस्टार राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकलले सन् २००१ मा अक्षय कुमारसँग बिहे गरेकी हुन्। ट्विंकल र अक्षयका दुई सन्तान छन्- छोरा आरभ र छोरी नितारा।
आफूलाई सानैदेखि आमा डिम्पलले आत्मनिर्भर हुन सिकाएको पनि ट्विंकलले बताएकी छन्।
संवादकै क्रममा ट्विंकलले काजोलसँग पनि उनी र अजय देवगनबीच घरायसी खर्च बाँडफाँट हुने गरेको छ कि छैन भनेर सोधेकी थिइन्। 'के हामीजस्तै तिमी र अजयले पनि खर्च बाँडेका छौ कि सबै खर्चको जिम्मा अजयलाई नै सुम्पेकी छौ?' ट्विंकलको प्रश्न थियो।
जवाफमा काजोलले भनिन्, 'होइन, होइन, तिमीहरूजस्तै हामी पनि यो मामिलामा एकदमै स्पष्ट छौं।'
त्यसपछि काजोलले हाँस्दै भनिन्, 'अजय र मेरो एउटै सूत्र छ- जे तिम्रो हो, त्यो सबै मेरो हो र जे मेरो हो त्यो त मेरै भइहाल्यो।'
उनले अगाडि भनिन्, 'बच्चाहरू मेरै हुन्। मेरो विचारमा यो खर्च तिम्रो, त्यो खर्च मेरो भनेर छुट्टयाउनुभन्दा हामी जसलाई जे सजिलो हुन्छ त्यही गर्छौं। अनलाइनबाट हुने काम सबै म गर्छु। अफलाइन गर्नुपर्ने कामहरू अजयको जिम्मा।'
काजोल र अजयले सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका पनि दुई सन्तान छन्- छोरी निशा र छोरा युग।
उक्त संवादमा काजोलले आफ्ना पति अजयको तारिफ पनि गरेकी थिइन्। उनले भनेकी थिइन्, 'घरको कुनै काम छ भने अजय सधैं तयार हुन्छन्। छोरी निशा राति बाहिर गएको छ भने ऊ घर नफर्केसम्म अजय कुरेर बस्छ। बिहानै उठेर युगलाई स्कुलको निम्ति तयार पार्ने काम पनि अजयकै हो।'