कोरोना महामारीपछि पहिलोपटक बलिउड बक्स अफिसमा धूम मच्चाएको 'सूर्यवंशी' का दुई पात्र सूर्यवंशी उर्फ अक्षय कुमार र सिम्बा उर्फ रणवीर सिंह आजबाट बक्स अफिसमा एकअर्कासँग भिडदै छन्।
लकडाउन अवधिभरि रोकिएका फिल्महरू धमाधम रिलिज हुने क्रमसँगै शुक्रबार ठूलो बजेटका दुईवटा फिल्म रिलिज भएका छन्। तीमध्ये '८३' मा रणवीर सिंह मुख्य भूमिकामा छन् भने 'अतरंगी रे' मा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरेका छन्।
सबभन्दा पहिला कुरा गरौं '८३' को।
कबिर खान निर्देशित यो फिल्म सन् १९८३ को विश्वकप क्रिकेटमा भारतले पाएको ऐतिहासिक जितमा आधारित छ। त्यति बेला टिम इन्डियाका कप्तान कपिल देव थिए। यो फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह देखिने छन्।
फिल्मको सबभन्दा सुन्दर पक्ष रणवीरको प्रस्तुति रहेको समीक्षकहरूले बताइरहेका छन्। कतिपय समीक्षकका अनुसार यो फिल्ममा रणवीर सिंह कुनै पनि कोणबाट रणवीरजस्तो देखिने छैनन्। उनले आफ्नो व्यक्तिगत पहिचानको चोला उतारेर आफूलाई पूरै कपिलको साँचोमा ढालेका छन्।
शारीरिक हाउभाउदेखि, बोल्ने र हिँड्ने शैलीदेखि उनले आफ्नो दाँतसमेत दुरूस्तै कपिल देवको जस्तो बनाएका छन्।
सन् १९८३ को उक्त प्रतियोगिताबारे जानकार क्रिकेट फ्यानहरूको निम्ति यो फिल्ममा नयाँपन नहोला तर उनीहरूका लागि पनि त्यो ऐतिहासिक जितको याद ताजा गर्ने महत्वपूर्ण फिल्मका रूपमा यसलाई लिइएको छ।
यो फिल्मको अर्को महत्वपूर्ण पक्ष के भने, यसमा कपिल देवकी पत्नी रोमी देवको भूमिका दिपिका पादुकोणले खेलेकी छन् जो वास्तविक जीवनमा पनि रणवीर सिंहकी पत्नी हुन्।
यसअघि सञ्जय लीला भन्सालीका तीन फिल्म 'रामलीला', 'बाजीराव मस्तानी' र 'पद्मावत' मा सँगसँगै देखिएका रणवीर र दिपिकाको जोडी बिहेपछि पहिलोपटक पर्दामा सँगै देखिन लागेका हुन्। दुवैका प्रशंसक उनीहरूको जोडीलाई बिहेपछि पहिलोपटक पर्दामा हेर्न लालायित छन्। त्यो पनि भारतका आइकन कपिल देव र उनकी पत्नीको भूमिकामा।
प्रशंसकहरू मात्र होइन, यो फिल्मबाट रणवीर र दिपिका पनि अत्यन्तै उत्साहित छन् भन्ने निर्देशक कबिर खानले हालै एक अन्तर्वार्तामा बताएका थिए।
'पहिलोचोटि फिल्म हेरेपछि दिपिका यति खुसी भइन्, उनलाई बोल्नधरि गाह्रो भयो,' कबिरले अन्तर्वार्तामा भने, 'उनी घाँटी निस्सासिएजस्तो हिक्क हिक्क गर्दै थिइन्।'
सन् १९८३ को टिम इन्डियाका सदस्यहरूले पनि फिल्मको खुब तारिफ गरेका छन् जसमा कप्तान कपिल देव मात्र पर्दैनन्, अर्का चर्चित क्रिकेटर सुनील गावस्कर पनि पर्छन्।
गावस्करले इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा भनेका छन्, 'यो फिल्म गज्जबकै बनेको छ। यसले त्यति बेलाका खेलाडीहरूको मनोदशा, तनाव र उत्साहलाई न्यायका साथ पर्दामा उतारेको छ। कपिल र मेरो भूमिका मात्र होइन, टिमका प्रत्येक खेलाडीको भूमिकालाई कलाकारहरूले दुरूस्तै प्रस्तुत गरेका छन्। उनीहरूको बोल्ने शैली, एकअर्कालाई हेर्ने शैली र सामान्य हाउभाउ पनि मिहिन रूपमा टिपिएका छन्। कबिर खान र उनको टिम बधाईका पात्र छन्।'
अर्कातिर, आनन्द एल रोय निर्देशित 'अतरंगी रे' अक्षय कुमार, धनुष र सारा अली खानको त्रिकोणात्मक प्रेमकथामा आधारित छ।
घरबाट भागेर हिँडेकी केटीको एउटा सामान्य केटासँग रेलमा जम्काभेट हुन्छ। उनीहरूबीच मित्रताको गाँठो कसिन नपाउँदै फिल्ममा प्रवेश गर्छन्, जादुगर। यहीँबाट सुरू हुन्छ कथामा ट्वीस्ट।
हिन्दी फिल्मका दर्शकहरूका लागि यो कथा नौलो होइन। यस्तो त्रिकोणात्मक प्रेमकथा र घरबाट भागेर हिँड्ने केटीको रेलमा सामान्य केटासँग जम्काभेट हुने घटना हामीले धेरैचोटि धेरै फिल्ममा देखिसकेका छौं।
यो फिल्मको कथाले कताकता इम्तियाज अलीको 'जब वी मेट' को झझल्कोसमेत दिने केही समीक्षकले टिप्पणी गरेका छन्। हुन पनि 'जब वी मेट' मा करिना कपुर उर्फ गीत घरबाट भागेर गएको दृश्य यादगार छ।
सामान्य र बासी कथावस्तुमा बनेको 'अतरंगी रे' मा एआर रहमानको संगीतले धूम मच्चाइसकेको छ।
यसअघि सूर्यवंशीमा सुपर-कपको भूमिकामा एक्सन देखाएका अक्षय कुमारले यो फिल्ममा जादुगरको भूमिकामा कस्तो जादू देखाउने हो हेर्न बाँकी छ।
बलिउड समीक्षकहरूले दिएको रेटिङलाई आधार मान्ने हो भने '८३' लाई धेरै समीक्षकले उत्कृष्ट फिल्मको श्रेणीमा राख्दै ३ भन्दा बढ्ता स्टार दिएका छन्। 'अतरंगी रे' ले भने धेरै समीक्षकबाट पाएको स्टार २ भन्दा कम छ। यसले यो फिल्म औसत मात्र छ भन्ने बुझिन्छ।