वर्ष २०२१ मा बलिउडले धेरै दिग्गज कलाकार गुमाएको छ। दिलीप कुमारदेखि सिद्धार्थ शुक्लासम्म गुमाएको बलिउड वर्ष २०२१ मा शोकमा रह्यो।
वर्ष २०२० कोरोनाका कारण लकडाउनमा रह्यो। विस्तारै कोरोना संक्रमणमा कमि आएसँगै वर्ष २०२१ मा बलिउडमा चहलपहल बढ्यो। केही फिल्महरू सिनेमा घरमा लागे केही ओटीटीमार्फत रिलिज भए। तर वर्ष २०२१मा बलिउडले केही राम्रा कलाकार गुमायो।
दिलीप कुमार
बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन यो वर्ष भएको छ। उनी लामो समयदेखि बिरामी थिए । ९८ वर्षीय दिलीप कुमारलाई ३० जुनका दिन हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनले ७ जुलाई २०२१ मा अन्तिम सास फेरे । दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो।
उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्।
सिद्धार्थ शुक्ला
४० वर्षिय युवा अभिनेता सिद्धार्थ शुक्लालाई बलिउडले वर्ष २०२१ मा गुमायो।
२ सेप्टेम्बरमा अचानक हृदयघातका कारण निधन भएको थियो। उनको मृत्युको खबर सुनेर दर्शकहरु स्तब्ध भएका छन् ।
सिद्धार्थ ‘बीग बोस-१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्युटिफुल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्टसमेत गरेका थिए ।
पुनीत राजकुमार
कन्नड उद्योगका सुपरस्टार पुनीत राजकुमारको २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो। ४६ वर्षीय पुनीत राजकुमार अभिनेता राजकुमारका छोरा हुन्।
मायाले उनलाई फ्यानहरुले अप्पा भन्ने गर्थे। २९ भन्दा बढी कन्नड चलचित्रमा अभिनय गरेका पुनीत राजकुमारले आफ्नो करियर बाल कलाकारको रूपमा सुरु गरेका थिए । उनले उत्कृष्ट बाल कलाकारको अवार्ड पनि पाएका छन्।
सुरेखा सिकरी
टिभी सिरियल ‘बालिका वधू’ मा ‘दादी सा’ को भूमिकाबाट चर्चामा आएकी अभिनेत्री सुरेखा सिकरीको जुलाई १६मा हृदयघातका कारण निधन भएको थियो । ७५ वर्षीया सुरेखा सिकरीले धेरै टिभी सिरियल र फिल्ममा काम गरिसकेकी छन् ।
तीन पटक नेशनल अवार्ड विजेता नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताइन् । अभिनेत्रीले अलीगढ मुस्लिम युनिवर्सिटीबाट आफ्नो पढाई पुरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिन् ।
उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।
सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले पनि उनलाई यही नामले बोलाउने गर्छन् ।
फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।
राजीव कपुर
बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजीव कपुरको ९ फेब्रुअरीमा हृदयघातका कारण निधन भएको छ । ५८ वर्षका राजीवको चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा निधन भएको हो ।
राजीव कपूरले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । शम्मी कपुर र शशी कपूर राजीवका काका थिए । कामको कुरा गर्ने हो भने उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए ।
सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।
राज कौशल
अभिनेत्री मन्दिरा बेदीका पति राज कौशलको ३० जुन २०२१ मा बिहान ४: ३० बजे निधन भएको थियो।
राजको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।
मन्दिरा र राजका २ सन्तान छन् । राज बलिउडका चर्चित निर्देशक थिए । राज कौशलले एन्थोनी कौन है, शादी का लड्डु, प्यार में कभी कभी जस्ता फिल्म निर्देशन गरेका थिए । माइ ब्रदर निखिल, शादी का लड्डु, प्यार में कभी कभी जस्ता फिल्मका उनी निर्माता पनि थिए ।
राजले अचानक यो संसारलाई छोड्दा बलिउड उद्योगमा एक प्रकारको झटका महसुस भएको थियो ।
बिहान साढे ४ बजे हृदयाघात भएकोमा परिवारले अस्पताल पुर्याउन नपाउँदै उनको निधन भएको बताइएको छ।
अनुपम श्याम
टिभी सिरियल ‘प्रतिज्ञा’ मा ठाकुर सज्जन सिंहको भूमिका निर्वाह गरेका चर्चित अभिनेता अनुपम श्यामको अगस्ट ९ मा निधन भएको थियो ।
टिभी सिरियलका अलावा अनुपम श्यामले स्लमडग मिलियनेयर, ब्यान्डिट क्वीन, दस्तक, दिल से, लगान,गोलमाल र मुन्ना माइकल जस्ता धेरै बलिउड फिल्महरूमा पनि काम गरेका थिए ।
विक्रमजीत कम्वरपाल
बलिउडका चर्चित अभिनेता विक्रमजीत कंवरपालको कोरोना भाइरसका कारण मे १ मा निधन भएको छ । विक्रमजीतका पिता द्वारकानाथ कंवरपाल भारतीय सेनामा अफिसर थिए ।
विक्रमजीत कंवरपालले सन् १९८६ मा द लरेन्स स्कूल, सनावरबाट आफ्नो पढाइ पूरा गरे र आफ्ना बुबा जस्तै १९८९ मा भारतीय सेनामा भर्ना भए । जहाँ उनले करिब १३ वर्ष देशको सेवा गरे । यसपछि विक्रमजीत फिल्मी दुनियाँतिर लागे । उनी बाल्यकालदेखि नै अभिनेता बन्न चाहन्थे । उनले सन् २००३ मा अभिनयमा डेब्यु गरेका थिए ।
अरविन्द त्रिवेदी
टेलिभिजनको चर्चित शो ‘रामायण’ मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका अभिनेता अरविन्द त्रिवेदीको हृदयघातका कारण ५ अक्टुवरमा निधन भएको हो ।
अरविन्द ८३ वर्षका थिए । अभिनयका अलावा अरविन्दले राजनीतिमा पनि हात हालेका थिए । १९९१ मा, अरविन्द त्रिवेदी भारतीय जनता पार्टीको सदस्यको रूपमा साबरकथा निर्वाचन क्षेत्रबाट सांसदको रूपमा निर्वाचित भए र १९९६ सम्म उक्त पदमा रहे।
श्रवण राठौर
लोकप्रिय संगीतकार जोडी नदीम–श्रवणका श्रवण राठौरले पनि यही वर्ष यो संसार त्यागे ।
श्रवणको निधन अप्रिल २३ का दिन भएको थियो । कोभिड–१९ का कारण उनको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । उनको उमेर ६६ वर्षको थियो ।