बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म '८३' ले बक्सअफिसमा खासै राम्रो गर्न सकेन। दीपिका पादुकोण समेत रहेको उक्त फिल्म भारतीय क्रिकेटर कपिल देवको जिवनीमा आधारित छ।
फिल्ममा रणवीर सिंह कपिल देव बनेका छन् भने दीपिका कपिलकी श्रीमतीको भूमिकामा छन्। रणवीरले यो फिल्मका लागि निकै मेहनत पनि गरेका थिए जुन उनको लुक्स र अभिनयमा पनि देख्न सकिन्छ।
दक्षिण भारतीय फिल्म 'पुष्पाः द राइज' र हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' सँगसँगै यो फिल्म हलमा लागेको थियो।
फिल्मको कथा र रणवीरको भूमिकादेखि अभिनयसम्म निकै चर्चा भए पनि यसले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेन।
कोरोना महामारीपछि सामान्य अवस्था हुँदा हलमै लागेको फिल्म राम्रो नचलेपछि रणवीर सिंहले एउटा फैसला गरेका छन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार रणवीरले आफ्नो करिअरकै महत्वपूर्ण फैसला गरेका हुन्।
हंगामाका अनुसार ८३ को असफलतापछि रणवीरले कुनै बायोपिक फिल्म नखेल्ने निधो गरेका हुन्। उनले कहिलेसम्म बायोपिक नखेल्ने भन्ने स्पस्ट छैन।
भारतीय सिनेमा उद्योगमा जिवनीमा आधारित फिल्म धमाधम बनिरहेका अवस्थामा रणवीरले यस्तो फैसला गरेका हुन्।
हंगामा लेख्छ, 'खबरका अनुसार रणवीरले अब बायोपिक नगर्ने भएका छन्। उनलाई थुप्रै बायोपिकहरूको प्रस्ताव आएको थियो। जसमध्ये मेघना गुलजारको फिल्म पनि समावेश थियो। तर ती सबैलाई रणवीरले अस्वीकार गरेका छन्।'
एक फिल्मको असफलतापछि नै रणवीरले यस्तो निधो गर्नु उनका लागि कत्तिको राम्रो सावित हुन्छ, त्यो त भन्न सकिन्नँ। तर यसअघि उनका सफल फिल्महरूमा पनि उनले वास्तविक जीवनका मान्छेहरूकै भूमिका निर्वाह गरेका थिए।
सञ्जय लीला भन्सालीको 'बाजीराव मस्तानी','पद्मावत' यसका उदाहरण हुन्।
रणवीरका अब 'जयेशभाइ जोरदार' र 'रकी और रानी की प्रेम कहानी' नामक नयाँ फिल्म आउँदैछन्।
जयेशभाइ जोरदारमा रणवीरसँगथै दक्षिण भारतीय अभिनेत्री शालिनी पांडे हुने छिन्।
रकी और रानी की प्रेम कहानीमा भने आलिया भट्ट र रणवीरको जोडी देख्न सकिनेछ।