अभिनेता रामचरण दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन्। उनी टलिउडकै स्टाइलिस अभिनेताहरूमध्ये पनि पर्छन्। अधिकांश प्रशंसकहरूलाई उनको कपालको स्टाइल मनपर्छ।
सधैं चिरिच्याट्ट र कूल स्टाइलमा कपाल मिलाउने रामचरणको सबभन्दा आकर्षक पक्ष नै कपाल हो भन्नेहरू समेत छन्।
जनवरी ७, अर्थात् आज सार्वजनिक हुने भनिएको उनको पछिल्लो फिल्म 'आरआरआर' को प्रचार क्रममा पनि उनको कपालको क्रेज देखिएको थियो। भलै, आरआरआरको रिलिज मिति सरेको होस्, फिल्म र रामचरणको चर्चा भने सेलाएको छैन।
आरआरआरको काम सकिएपछि अब रामचरण आफ्नो पन्ध्रौं फिल्मको तयारीमा छन्। यो फिल्मको नाम 'आरसी १५' हुने भनिएको छ।
यो फिल्ममा उनी बिल्कुलै नयाँ खालको कपालमा देखिने भएका छन्।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनको कपाल बनाउने एकदमै चर्चित हेयरस्टाइलिस्टलाई लिइएको छ।
ती हेयरस्टाइलिस्टको पनि चर्चा रामचरणको भन्दा कम छैन। किनकी रामचरणको कपाल मिलाउने हेयरस्टाइलिस्ट एकदमै महँगा छन्।
उनले रामचरणको कपाल मिलाउने काममा एक दिन खर्चिँदा डेढ लाख भारू लिने टाइम्स अफ इन्डियाले लेखेको छ।
ती हेयरस्टाइलिस्टसँग तीन जना सहयोगी पनि हुनेछन्। त्यस्तै उनले जहाजमा बिजनेस क्लासमा यात्रा गर्ने र पाँचतारे होटलमा बस्ने पनि बताइएको छ।
यसरी समग्रमा हेर्दा रामचरणको कपालका लागि मात्र केही करोड खर्च हुने देखिएको छ।
फिल्म आरसी १५ को बारेमा कुरा गर्दा यसमा रामचरणसँगै अभिनेत्री कियारा अड्भानीको मुख्य भूमिका हुनेछ।