अभिनेता आर माधवनले अर्का दुई अभिनेता जुनियर एनटिआर र रामचरणलाई देखेर आफूलाई आरिस लागेको बताएका छन्।
उनले ट्विटमार्फत् रामचरण र एनटिआरको मित्रता देखेर आफूलाई आरिस लागेको बताएका हुन्।
रामचरण र एनटिआरको नयाँ फिल्म 'आरआरआर' को 'नाटु नाटु' गीतमा उनीहरूको काम र मित्रता देखेर माधवनले 'आरिस' गरेका हुन्।
उनले लेखेका छन्, 'यो गीतमा एनटिआर र रामचरणलाई देखेर मलाई आरिस नै लाग्यो। म यो जति हेरे पनि अघाउँदै अघाउँदिनँ। यो अलौकिक छ। म तिमीहरूको दोस्ती देखेर जलेको छु। सँगै तिमीहरूलाई देखेर गर्व पनि लागेको छ।'
माधवनको ट्विटमा फिल्म आरआरआर निर्माता टोलीले पनि तुरून्तै प्रतिक्रिया दिएको छ। आरआरआर टोलीले माधवनलाई धन्यवाद दिँदै लेखेको छ- धन्यवाद म्याडी सर!
माधवनलाई उनी निकटहरूले म्याडी भनेर पनि बोलाउँछन्।
आरआरआर निर्माता टोलीको धन्यवादमा माधवनले जवाफ फर्काउँदै भनेका छन्, 'तिमीहरूले फाँड्ने छौ। भारतीय फिल्मको कमाइमा नयाँ इतिहास बनाउनेछौ।'
उनले आरआरआर ब्लकबस्टर हुने पनि बताएका छन्।
यसमा जवाफ दिँदै आरआरआर निर्माता टोली आफूहरू पनि सकेसम्म चाँडो फिल्म रिलिज गर्न उत्साहित रहेको बताएको छ।
'बाहुबली' बाट संसारका थुप्रै देशमा चर्चा कमाउन सफल निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर यही जनवरी ७ मा रिलिज हुने तय भएको थियो। तर भारतमा ओमिक्रोन कोरोना फैलिँदै गएपछि हलहरू बन्द हुँदै गए। त्यसैले अहिलेलाई आरआरआरको रिलिज स्थगित भएको छ।
अब यो फिल्म कहिले आउँछ भन्नेबारे कुनै जानकारी छैन।
रामचरण र एनटिआरको मुख्य भूमिका रहेको आरआरआरमा आलिया भट्ट, अजय देवगनको पनि अभिनय छ। साढे चार सय करोड भारूमा बनेको यो फिल्म भारतकै अहिलेसम्मको महँगो फिल्म हो।