दक्षिण भारतीय अभिनेता सत्यराज अस्पताल भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यम पिंक भिल्लाका अनुसार सत्यराजलाई कोरोना देखिएपछि चेन्नाईको अस्पताल भर्ना गरिएको हो।
उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे अस्पतालले हालसम्म कुनै आधिकारिक जानकारी भने नदिएको पिंक भिल्लाले लेखेको छ।
सत्यराज दक्षिण भारतीयमा चर्चित कलाकार हुन्। तर एसएस राजामौलीको 'बाहुबली' मा कटप्पाको भूमिका निर्वाह गरेपछि उनको चर्चा एकाएक चुलिएको हो।
६७ वर्षीय सत्यराजले थुप्रै तेलेगु, कन्नड, मलयलम र बलिउड फिल्ममा पनि अभिनय गरेका छन्। शाहरूख खान र दीपिका पादुकोणको मुख्य भूमिका भएको फिल्म 'चेन्नाई एक्सप्रेस' मा पनि सत्यराजको अभिनय छ। उनी यसमा दीपिकाका बाबुका रूपमा देखिएका छन्।
बाहुबलीका दुवै भागमा अहम् भूमिका निर्वाह गरेका सत्यराजले यो फिल्मपछि भने एकदमै धेरै चर्चामा आए। उनले निर्वाह गरेको कटप्पा पात्र पनि निकै चर्चित भयो।
अझ पहिलो भाग बाहुबलीलाई कटप्पाले मारेको दृश्यसँगै सकिन्छ।
दोस्रो भाग दुई वर्षपछि मात्र आइपुग्दासम्मको समयमा कटप्पाले बाहुबलीलाई किन मारे भन्ने प्रश्न एकदमै धेरै चर्चामा रह्यो।
योसँगै कटप्पाको चर्चा पनि चुलियो। अनि सत्यराजले पनि आफ्ना थुप्रै नयाँ दर्शक र प्रशंसकहरू बटुले। उनले आफ्नो करिअरमा थुप्रै अवार्ड पनि पाएका छन्।
कामको कुरा गर्दा, हाल सत्यराज सूर्याको मुख्य अभिनय रहेको फिल्म 'इथारक्कम थुनिन्धवन' मा देखिँदै छन्।
यो फिल्म पान्डिराजको निर्देशन र लेखनमा बनेको हो भने सन पिक्चर्सले निर्माण गरेको हो।
फिल्ममा सूर्या र सत्यराजबाहेक प्रियंका अरूल मोहन, विनय राय, सरन्या पोनभनन, सूरी र एमएस भास्कर पनि मुख्य भूमिकामा छन्।
फिल्म आगामी फेब्रुअरी ४ मा रिलिज हुने भनिएको छ।