भारत, मुम्बई प्रहरीले अभिनेता शाहरूख खानलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार गत जनवरी ६ तारिकमा एक व्यक्तिले फोन गरेर शाहरूखलाई धम्की दिएका थिए।
ती व्यक्तिले आफूले बम बोकिरहेको र शाहरूखको घर 'मन्नत' मा पड्काउने भनेका थिए।
यो खबर पाउनासाथ खुबै तनाव सिर्जना भएको थियो। प्रहरीले तत्कालै यसबारे खोजबिन गरेको थियो।
कोइमोइका अनुसार त्यो फोन मध्य प्रदेश जबलपुर जिल्लाबाट आएको पत्ता लाएपछि मुम्बई प्रहरीले तत्कालै जबलपुर प्रहरीसँग समन्वय गरको थियो। अनि ती व्यक्तिका बारेमा थप विवरण मागेको थियो।
प्रहरीले शाहरूखको घरमा बम पड्काउने धम्की दिएको आरोपमा जितेश ठाकुरलाई पक्राउ गरेको छ।
जितेशलाई उनको घरबाटै पक्राउ गरिएको हो।
शाहरूख खान यति बेला मिडियामा सार्वजनिक रूपमा आएका छैनन्। केही समयअघि उनका छोरा आर्यन लागुपदार्थ सेवन तथा कारोबार आरोपमा पक्राउ परेका थिए।
आर्यनलाई तीन साताभन्दा बढी समय हिरासतमा लिइएको थियो। त्यो बेलादेखि नै मिडियाबाट बाहिर रहेका शाहरूख अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।
आर्यन जेलबाट रिहा भएको केही समयपछि भने उनी सुटिङ लागि बाहिर निस्किएको खबरहरू भारतीय सञ्चारमाध्यमहरूले छापेका छन्।
उनको नयाँ फिल्म 'पठान' को सुटिङ भइरहेको छ। पठानमा उनीसँगै दीपिका पादुकोण पनि मुख्य भूमिकामा छिन्।
शाहरूखको पछिल्लो समय, सन् २०१८ मा 'जिरो' फिल्म आएको थियो। जिरोमा उनलाई कट्रिना कैफ र अनुष्का शर्माले साथ दिएका थिए।