बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको प्रेम सम्बन्ध टुटेको खबर बाहिरिएसँगै उनीहरूले यसमा आफ्नै शैलीले प्रतिक्रिया दिएका छन्।
विगत केही दिनदेखि यो प्रेमिल जोडीको व्यवहारले फरक संकेत गरिरहेको भन्दै उनीहरूको ब्रेक-अप भएको चर्चा भइरहेको थियो।
बलिउड लाइफले यसबारे लेखेको थियो, 'छ दिनदेखि मलाइका अरोरा घरबाट निस्केकी छैनन्। उनी पूर्णरूपमा आइसोलेसनमा छिन्। उनी अर्जुन कपुरसँग एकदमै रिसाएकी र दुखी भएको बताइएको छ। त्यसैले उनले केही समय अर्जुन र अरूदेखि टाढै बस्ने निधो गरेकी छन्।'
त्यस्तै पहिले बारम्बार मलाइकाको घर पुग्ने अर्जुन कपुर यसबीच एकपटक पनि नगएका पनि बलिउड लाइफले लेखेको थियो। तीन दिनअघि मात्र आफ्नी दिदी रिया कपुरको घरमा बेलुकीको खाना खान पुगेका अर्जुन मलाइकालाई भेट्दै नभेटी फर्किए। मलाइका र रियाको घर एकदमै नजिक छ।
यही कारण मलाइका र अर्जुनको सम्बन्ध टुंगिएको चर्चा चलिरहेको थियो। तर अर्जुन र मलाइकाले बुधबार यी सबै चर्चा र प्रश्नमाथि सामाजिक सञ्जालमा आफूहरूको तस्बिर राख्दै जवाफ दिएका छन्।
अर्जुनले इन्स्टाग्राममा मलाइका र आफ्नो तस्बिर राख्दै लेखेका छन्, 'हावा हल्लाहरूका लागि कुनै ठाउँ छैन। सुरक्षित रहनुहोस्। सबैका लागि शुभकामना र प्रेम।'
त्यही पोस्टमा मलाइकाले मुटु इमोजी राखेर कमेन्ट गरेकी छन्।
अर्जुन र मलाइका अरोराको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ। मलाइकाले अर्बाज खानसँग सम्बन्ध विच्छेद गरेपछि अर्जुन कपुरसँग उनको प्रेमबारे चर्चा हुँदै आइरहेको छ।
४८ वर्षीया मलाइका र ३६ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्।