बलिउड अभिनेता आर माधवनले धेरै प्रशंसकको मन जितेका छन्।
पहिलो फिल्म 'रेहेना है तेरे दिल' म्याडीको भूमिकामा देखिएका उनलाई प्रशंसकले यति रूचाए कि, उनलाई बोलाउने नामै म्याडी भयो। भनिन्छ, म्याडी एक फिल्मको पात्र होइन, अथाह प्रेमको भावना हो।
बलिउडमा कुनै आफ्ना-आफन्त बिना प्रवेश गरेका माधवनले आफ्नो करिअरमा निकै राम्रो भूमिकाहरू निर्वाह गरेका छन्। प्रेममा डुबेको एक केटोदेखि, कमेडी, थ्रिलर सबै खाले भूमिकामा उनी खरो उत्रिएका छन्।
उनको करिअरको अर्को उल्लेख्य भूमिका 'थ्री इडियट्स' मा थियो। फरहान कुरेशीको भूमिकामा उनले लाखौंको मन जित्न सफल भए।
बलिउडले अनुहार र जिउ-ज्यान बनावट हेरेर 'हिरो' लिने बेलामा करिअर सुरू गरेका माधवन आफ्नो अभिनय र फरक भूमिकाले नै जम्न सफल कलाकार हुन्। बलिउडमा मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमा पनि माधवन जमेका अभिनेता हुन्।
माधवनलाई वास्तविक जीवनकै हिरो मान्नेहरू पनि छन्। उनको सरलता र समझदारीको धेरैले तारिफ गर्छन्।
सबैको प्रशंसा बटुल्ने माधवनले हालै एक अन्तर्वार्तामा अरू कलाकारको जमेर तारिफ गरेपछि उनी फेरि चर्चामा आएका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा उनले अभिनेता ऋतिक रोशनको प्रंशसा गरेका हुन्। माधवनले ऋतिक एकदमै सुन्दर भएको भन्दै उनलाई बलिउडका 'ग्रीक देवता' समेत भनेका छन्।
'म उनलाई एकदमै मनपराउँछु। हामीले एकै समयमा करिअर सुरू गरेका थियौं। ऋतिक ग्रीक देवताजस्तो देखिन्छन्,' माधवनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ।
माधवनले ऋतिक सँगै अभिनेत्री कटरिना कैफको पनि जमेर तारिफ गरेका छन्।
यही क्रममा उनले कटरिनासँग फिल्म खेल्न इच्छा रहेको पनि बताए। तर आफूले इच्छा राखेर मात्र नहुने पनि उनले बताएका थिए।
'मलाई कटरिना कैफसँग फिल्म खेल्न मन छ,' माधवनले भनेका छन्, 'तर मैले चाहेर मात्र हुँदैन। कटरिनासँग फिल्म खेल्न म ऋतिकजस्तै फिट हुनुपर्छ। कटरिनाको जोडी भएर खेल्न लायक बन्नुपर्छ।'
माधवनले ऋतिक र कटरिना खुबै तारिफ गरेर आफूलाई कम आँकेपछि उनका प्रशसंकहरूले उनलाई भरपुर माया देखाइरहेका छन्।
सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमहरूले दिएको प्रतिक्रियाको सार यस्तो छ- म्याडी, तिमी कोहीभन्दा कम छैनौ। आफूलाई कसरी यस्तो सोच्न सक्यौ? हामीलाई विश्वास छ कटरिना कैफ तिमीसँग फिल्म खेल्न एकदमै उत्साहित हुनेछिन्।
माधवनका प्रशंसक यसै त उनलाई माया गर्थे, उनको यो अन्तर्वार्तापछि झनै धेरै माया देखाइरहेका छन्।